क्यानडा लगातार दोस्रो पटक टी-ट्वेन्टी विश्वकपका लागि छनोट

असार ८, २०८२ |खेल ब्युरो
क्यानडा लगातार दोस्रो पटक टी-ट्वेन्टी विश्वकपका लागि छनोट

काठमाडौं । आईसीसी पुरूष टी-ट्वेन्टी विश्वकप-२०२६ का लागि क्यानडाले आफ्नो स्थान पक्का गरेको छ । 

अमेरिका क्षेत्रीय छनोटको आयोजक समेत रहेको क्यानडाले लगातार पाँचौं जित दर्ता गर्दै भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान बनाएको हो ।

बर्मुडासँगको एक खेल बाँकी छँदै बहामसलाई पराजित गरेर क्यानडा लगातार दोस्रो पटक विश्वकपमा छनोट भएको हो ।

बहामसलाई जम्मा ५७ रनमै समेट्ने क्रममा क्यानाडाका कालिम साना र शिवम शर्माले समान ३-३ विकेट लिए । जवाफमा दिलप्रीत बाजवाले १४ बलमा अविजित ३६ रन प्रहार गरेपछि मात्र ५ ओभर ३ बलमै क्यानडाले लक्ष्य पूरा गरेको थियो । 

योसँगै क्यानडा टी-ट्वेन्टी विश्वकप-२०२६ मा स्थान बनाउने ११औं टोली बनेको छ । यस विश्वकपका लागि आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले स्थान सुरक्षित गरिसकेका छन् । 

अब बाँकी सात टोलीले क्षेत्रीय छनोटबाट विश्वकपमा स्थान बनाउने छन् ।