एजेन्सी । विश्व वरीयताको शीर्षस्थानमा रहेका कार्लोस अल्काराजले दोस्रो पटक क्विन्स क्लबको उपाधि जितेका छन्। गएराति भएको फाइनलमा शक्तिशाली चेक खेलाडी जिरी लेहेच्कालाई २–१ को सेटमा हराउँदै उपाधि जितेका हुन्।
आइतबार रातिको खेलमा पहिलो सेटमा ७–५ को जितसहित २२ वर्षीय अल्काराजले विजयी सुरुआत गरेका थिए। ५–५ मा ब्रेक गर्दै ४५ मिनेटमा पहिलो सेट जितेका थिए। लेहेच्का सन् १९९० मा इवान लेन्डलपछि क्विन्स जित्ने पहिलो चेक खेलाडी बन्ने लक्ष्यमा थिए। उनले पाँच पटक ग्रान्डस्ल्याम विजेता अल्काराजसँग बराबरीको खेल देखाउँदै दोस्रो सेट टाइब्रेकमा उत्कृष्ट खेलसहित दोस्रो सेट जिते। यो सेटको टाइब्रेकरमा अल्काराज ७–५ ले पराजित भएका थिए।
खेल एक एक को अवस्थामा ६–२ को जित निकाल्दै अल्काराजले उपाधि जितेका हुन्। लेहेच्काले खेलको अन्तिम सट शट ब्याकह्यान्डबाट नेटमा हानेपछि अल्काराजले जितको खुसी मनाए। यो जितले उनलाई विम्बल्डनको उपाधि रक्षा अघि राम्रो तयारी भएको छ। स्पेनी खेलाडी अल्काराजले २०२३ मा पहिलो पटक विम्बल्डन जित्नुअघि पनि क्विन्स क्लबमा जित हात पारेका थिए। अहिले उनी पछिल्ला १८ खेलयता अपराजित यात्रामा छन्।
विम्बल्डनमा अल्काराज दोस्रो वरीयताका साथ खेल्नेछन्। यो वर्ष उनी लगातार तेस्रो उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। उनी उत्कृष्ट फर्ममा छन् भने विम्बल्डनका एक प्रमुख दावेदार मानिएका छन्। अल्काराजले अप्रिलदेखि हालसम्म २८ मध्ये २७ खेल जितेका छन्, एकमात्र हार बार्सिलोनाको फाइनलमा होल्गर रुनेसँग भएको थियो। आइतबारको उपाधि यस वर्षको उनको पाँचौं हो।