एसीसी अन्डर-१६ इस्टर्न जोन कपमा नेपालकाे विजयी सुरूआत

असार ८, २०८२ |खेल ब्युरो
एसीसी अन्डर-१६ इस्टर्न जोन कपमा नेपालकाे विजयी सुरूआत

काठमाडौं । साबिक विजेता नेपालले एसीसी अन्डर-१६ इस्टर्न जोन कपमा विजयी सुरूआत गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको हो ।

नेपालको जितमा कप्तान विपिन शर्माले शानदार बलिङ गर्दा प्रसिद्ध जैशीले अर्धशतकीय योगदान दिए । मलेसियाको यूकेएम ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ३६ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो । 

पहिलो विकेटका लागि आहान वुथन्डम र रोहन अस्टिन अरुणले ४९ रनको साझेदारी गरे । ३८ रन बनाएका आहानलाई विपिनले आउट गरेपछि साझेदारी टुटेको थियो । रोहन ११ रन बनाएर शुभम खनालको शिकार भए । प्रणद ईशान मेदुरी १२, स्वारित ठाकुर र आरव अग्रवाल समान १-१ रनमा बाहिरिए । यी तिनै विकेट पनि विपिनले लिएका थिए ।

रुद्रांश प्रेमदीप शाह ६ रन बनाएर फास्ट बलर अभय यादवको बलमा क्याच आउट भए । सचिन भट्टको बलमा मैदान बाहिरिएका कप्तान रियान नायकले सवार्धिक ५३ रनको अर्धशतकीय योगदान दिए । उनले एक सयको स्ट्राइक रेटमा ब्याटिङ गर्दा ९ चौका प्रहार गरेका थिए ।

सिंगापुरका ७ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि विपिनले ४ र सचिनले ३ विकेट लिए । शुभम र अभयको नाममा समान १-१ विकेट रह्यो ।

जवाफमा नेपालले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर १ सय ३९ रनको विजयी लक्ष्य भेट्टायो । नेपालका लागि उपकप्तान सूर्यान्शु कोइराले ९ रन बनाए । उनी रिटायर्ड हर्ट भए । शिवान्श बजगाईं ९ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागी शिवान्श र रौनक श्रीवास्तवले ६३ रनको साझेदारी गरे । रौनकले ४४ बलमा ५ चौका र १ छक्काको मद्दतमा ४० रनको योगदान दिए ।

यी दुवैको विकेट आकाश तेजाले लिएका थिए । जोय थापा ४ रनमा युवान पाण्डेको बलमा कट एन्ड बोल्ड भए । सुगम बुढाथोकीले खाता खोल्न सकेनन् । प्रसिद्ध जैशीले सर्वाधिक ५५ रनको अर्धशतकीय योगदान दिए ।

९७ बलमा ५ चौका प्रहार गरेका प्रसिद्ध नटआउट रहे । शुभम खनालले ९ रनको योगदान दिए । सिंगापुरका लागि आकाशले सर्वाधिक ३ विकेट लिए । नेपाल यस प्रतियोगिताको अघिल्ला तीनै संस्करणको विजेता हो । २०२३ मा मलेसियालाई पराजित गर्दै च्याम्पियन बनेको नेपाल उपाधि रक्षा गर्ने लक्ष्यसहित मलेसिया गएको हो ।

नेपालको दोस्रो खेल मंगलबार जापानविरूद्ध, तेस्रो खेल आगामी आइतबार इन्डोनेसियाविरूद्ध तथा समूह चरणको अन्तिम खेलमा १७ गते भुटानविरूद्ध प्रतिस्पर्धा गर्नेछ ।  हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल खेल आगामी असार २१ गते हुनेछ । प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन् ।