काठमाडौं । विद्युतीय शवदाह उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव मिलनकुमार थापासहित १३ जना र एक संस्थाविरूद्ध मुद्धा दायर गरेको छ ।
विद्युतीय शवदाह उपकरण खरिदमा योजनाबद्ध रूपमा ठेकेदार कम्पनी र परामर्शदाता छनोट गरेर १० करोड ३३ लाख भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
तीन वटा कम्पनीबाट दररेट माग गरेर एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सलटेन्सीमार्फत् परामर्शदाताबाट फर्जी कोटेसन तयार पारेको देखिएको अख्तियारले जनाएको छ ।
लागत अनुमान पनि आफूअनुकूल कम्पनीलाई दिन सकिने गरी तयार पारिएको र परामर्शदातालाई विलबिजक जारीपूर्व नै भुक्तानी दिएको आरोप लगाइएको छ ।
अख्तियारले सदस्य-सचिव थापाबाहेक तत्कालीन निमित्त सदस्य-सचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा र उपनिर्देशक रेवतिरमण अधिकारी विरुद्ध पनि मुद्धा दायर गरेको छ ।
पशुपति क्षेत्र विकास कोषकै देवपतन काठमाडौंका इन्जिनियर रमेश पुरी, एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सलटेण्ट कम्पनीका प्रवन्ध निर्देशक सुरज चापागाइँलाई पनि प्रतिवादी बनाइको छ । सबै आरोपीसँग १० करोड ३३ लाख ९१ हजार बिगो मागदाबी गरिएको छ ।