बास्केटबल लिगको उपाधि टाइम्स क्लबलाई, गोल्डेन गेट कलेज ८०-७२ ले पराजित

असार ७, २०८२ |खेल ब्युरो
बास्केटबल लिगको उपाधि टाइम्स क्लबलाई, गोल्डेन गेट कलेज ८०-७२ ले पराजित

काठमाडौं । बास्केटबल लिगको उपाधि टाइम्स क्लबले जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आज भएको फाइनलमा टाइम्सले गोल्डेन गेट कलेजलाई ८०- ७२ ले पराजित गरेको हो ।

टाइम्सले सुरुआतदेखि नै खेलमा दबाब बनाएको थियो ।

पहिलो क्वार्टरमा टाइम्सले २०-८ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा गोल्डेनगेटले पुनरागमन गर्दै १९-१४ ले आफ्नो पक्षमा पारे पनि हाफ टाइमसम्म टाइम्स ३४-२७ को अग्रता बनाउन सफल रह्यो ।

तेसो क्वार्टर २६-२१ ले आफ्नो पक्षमा पारेपछि टाइम्सले अन्तिम क्वार्टरअघि ६०-४८ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वार्टर निकै रोमाञ्चक बन्यो । चौथो क्वार्टरमा गोल्डेन गेटले फेरि पुनरागमन गर्दै २४-२० को नतिजा हात पारे पनि टाइम्सले अग्रता कायमै राख्यो र च्याम्पियन बन्यो । 

लिग चरणको पहिलो खेलमा पनि टाइम्सले गोल्डेन गेटलाई पराजित गरेको थियो भने दोस्रो चरणमा गोल्डेन गेटले टाइम्सलाई हराएर बदला लिएको थियो । लिग चरणमा शीर्ष दुई स्थानमा रहेर गोल्डेन गेट र टाइम्सले फाइनलमा स्थान बनाएका थिए । 

आजै तेस्रो स्थानको लागि भएको खेलमा हाउन्ड्स एकेडेमीले कीर्तिपुरलाई ८०-७५ ले पराजित गर्‍यो । लिग विजेता टाइम्सले दुई लाख र उपविजेता गोल्डेन गेटले एक लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो स्थान प्राप्त गरेको हाउन्ड्सले ५० हजार रुपैयाँमा चित्त बुझायो ।