संसद्को रेकर्डबाटै हटाइयाे सांसद सिंहकाे विवादास्पद अभिव्यक्ति

असार ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद्को रेकर्डबाटै हटाइयाे सांसद सिंहकाे विवादास्पद अभिव्यक्ति

काठमाडौं । सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा स्वाधिनता र राष्ट्रहितविरूद्ध अभिव्यक्ति दिएपछि संसद्को रेकर्डबाटै हटाइएको छ ।

बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले ७२ जिल्लालाई विभेद गरिएको भन्दै राष्ट्रहितविपरीतका अभिव्यक्ति दिएपछि सत्तापक्षका सांसदहरूले आपत्ति जनाएका थिए । 

उनीहरूले संसदको रोष्ट्रमबाट आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सांसद सिंहको भनाइ कारबाहीको विषय भएको बताएका थिए । सांसदहरूको विरोधपछि सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहितविपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभयो ।

सभामुखको निर्देशनपछि सांसद सिंहले सभामुख घिमिरेमाथि प्रश्न उठाएका थिए भने सत्तारूढ दलका सांसदहरूले सिंहलाई बोल्न अवरोध गर्दै नाराबाजीसमेत गरेका थिए ।

सांसद सिंहले पुन: बोल्ने क्रममा बजेट विनियोजन विभेदपूर्ण भएको दोहोर्याएपछि सभामुख घिमिरेले निर्धारित विषयमा नबोल्ने भए रोष्ट्रम छोडेर जान निर्देशन दिनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.