राष्ट्रिय नेकोस कप महिला भलिबलमा न्यु डायमन्डको विजयी सुरुआत, एपीएफ ३ सेटमा पराजित

असार ७, २०८२ |खेल ब्युरो
राष्ट्रिय नेकोस कप महिला भलिबलमा न्यु डायमन्डको विजयी सुरुआत, एपीएफ ३ सेटमा पराजित

काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले राष्ट्रिय नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपाल स्पोर्टस् सेन्टर नेकोसको आयोजनामा आजदेखि हेटौंडामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३ सेटमा सहजै पराजित गरेको हो ।

हेटौंडा-४ हुप्राचौरस्थित भलिबल कोर्टमा पहिलो सेटको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । सो सेट न्यु डायमन्डले २७-२५ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भने एपीएफले कमजोर प्रदर्शन गर्‍यो । यो सेटमा न्यु डायमन्डले १० अंकको अग्रतासहित २५-१० ले नतिजा आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा २५-२२ को नतिजा हात पारेपछि न्यु डायमन्डले एपीएफलाई सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा न्यु डायमन्ड र एपीएफका साथै नेपाल पुलिस, क्लब मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश गरी ६ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले एक लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

विधागत उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार रुपैयाँ पाउने छ । असार ११ सम्म हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट भइरहेको छ ।