‘मिसन-२०२६ भनेको मनको लड्डू हो’

असार ८, २०८२ |खेल ब्युरो
‘मिसन-२०२६ भनेको मनको लड्डू हो’

काठमाडौंं । राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापानको आइची नागोयामा आयोजना हुने २०औं एसियाली खेलकुदको लागि लामो अभ्यासस्वरूप गरिरहेको तयारी मिसन २०२६ लाई नेपाली ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मनको लड्डू मात्रै भएको बताएका छन्। 

अहिलेको अवस्थामा सरकार र ओलम्पिक कमिटीबीचको विवादले खेलाडीमा अभ्यासको लागि आत्मबल सिजर्नना हुन नसकेको बताउँदै उनले उक्त कार्यक्रमलाई मनको लड्डू भएको बताएका हुन्।

जीवनरामले भने, ‘सरकार र ओलम्पिक कमिटीको द्वन्दले खेल संघहरूमा असर गरेको छ। त्यसले मैदानमा अभ्यास गरिरहेका नेपाली खेलाडी मारमा छन्। मिसन २०२६ भनेको मनको लड्डू हो। आइची नागोयाको एसियन गेम्सलाई संकेत गरिएको कार्यक्रम त हो तर खेलाडी चाहीँ सरकार र ओलम्पिकको द्वन्द्व हेर्दै अभ्यास गर्दै छन्। जसले मेडल सम्भव छैन्। सरकारले हामी (ओलीम्पक कमिटी)लाई ताला लगाएर राखेको छ।’

ओलम्पिक डेको अवसर पारेर नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलम्पियन सन्तोषी श्रेष्ठले कुनै प्रतियोगिता खेल्न जानु अघि दुई संघले फरक-फरक विदाई गर्नु दुःखको कुरा रहेको बताएकी छन्। 

सरकार र ओलम्पिकको द्वन्दको कारण अहिले विदेशमा खेल्न जाने खेलाडीलाई राखेप र ओलम्पिक कमिटीले फरक-फरक विदाई गर्ने गरेका छन्। नेपाली खेलकुदको अभिभावक संस्था भए पनि यी दुई संस्थामा कार्यरत अध्यक्षहरूको स्वार्थ बाजिएपछि खेलाडीले विदेश खेल्न जानु अघि कमजोर महसुस गर्ने गरेको सन्तोषीको भनाइ छ। उनले खलाडीलाई विदाई मात्रै गरेर नतिजा नआउने बताइन्।

‘विदाई गर्ने बेलामा माला लगाउने तर अभ्यासमा चाहीँ सहयोग नगर्ने खालको व्यवहारले मेडल आउँदैन्। मेडल ल्याउनलाई शुभकामना दिएर पुग्दैन, मोटिभेसन मात्रै दिएर केही हुन्छ त ?’ उनले प्रश्नसहित भनिन, ‘ट्र्याकमा के गर्ने, मैदान र रिङको तयारी कसरी गर्ने, भविष्यको सूरक्षा र प्रेरणा के गरी दिने भनेर सोच्नु पर्छ। र, मात्रै मेडल पनि ल्याउन सकिन्छ।’

कार्यक्रममा बोल्दै नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले ओलम्पिक विना अन्तराष्ट्रिय खेलमा सहभागीताको कल्पना गर्न नसकिने बताए। उनले अगाडि भने, ‘ओलम्पिक र राखेपले दिने बजेटले खेलकुदमा धेरै केही हुन्न। हामीले धेरै स्पोन्सर ल्याउन सक्नु पर्छ। त्यसमा चाहीँ जोडिनु पर्छ।’

जीवनरामले नेपालमा बुझाइको हिसबले ओलम्पिक मुभमेन्ट र ओलम्पिक चार्टरबारे असफल भएको बताएका छन्। उनले भने, ‘ओलम्पिकले संसारलाई रिप्रेजेन्ट गरेको छ। कुनै पनि देशको वर्तमान अवस्थालाई रिप्रेजेन्ट गर्ने सो केस हो ओलम्पिक। टिमको प्रदर्शनलाई हेर्दा त्यो देश कस्तो रहेछ भन्ने रिफ्लेक्सन देखिन्छ। यो गेम हरेक नागरिकका लागि महत्वपूर्ण देखिन्छ। ओलम्पिक सोसाइटी भनेको हार्मोनी समाज हो। यसको उद्देश्य पनि यहि नै हो।’

जुन २३ तारिखलाई विश्वभरी ओलम्पिक डेका रूपमा मनाउने गरिएको छ। यो मोडर्न ओलम्पिक सुरू भएको दिनका रूपमा मनाइएको हो। पछिल्लो समय यो दिन महोत्सवको रूपमा आइरहेको छ। 

‘नेपालमा पनि हामीले केही वर्षदेखि कार्यक्रम गरेर ओलम्पिकबारे सन्देश समाजमा दिएको सन्देशले गरेको परिवर्तन देखिएको छ। यो आजको डाइलगले पनि ओलम्पिकको सन्देशलाई सस्प्रेषण गर्दछौं। ओलम्पिक जित र हारको प्रतिस्पर्धामा सीमित होइन। यो देशको प्रेस्टिज हो,’ श्रेष्ठले भने, ‘संसारलाई एकजुट बनाउने यसको स्पिरिटलाई जोड्ने महत्वपूर्ण कुरा हो’

उनले नेपाल सरकारले यही नर्म्स र भ्यालुज नबुखेर यो असमझदारी भएको बताए। २०५३/५४ सालबाट राखेप, ओलम्पिक र खेलकुद मन्त्रालयमा थोरै भेद सुरू भएको उनको बुझाइ छ।