कस्तो रह्यो नेपाली क्रिकेट टोलीको स्कटल्यान्ड भ्रमण ?

असार ७, २०८२ |विनयज्योति सापकोटा
कस्तो रह्यो नेपाली क्रिकेट टोलीको स्कटल्यान्ड भ्रमण ?

काठमाडौं । नेपालले स्कटल्यान्ड टूरमा आईसीसी विश्वकप लिग-टूमा शानदार प्रदर्शन गर्‍यो भने त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा मिश्रित नतिजा हात पार्‍यो । नेदल्यान्ड्ससँग खेल तेस्रो सुपर ओभरसम्म धकेलिँदा त्यसको चर्चा विश्वभर भयो । 

सात महिनापछि एकदिवसीय अन्तरार्ष्ट्रिय क्रिकेटमा फर्किंदा नेपालले लिग-टुको अंकतालिकामा सुधार त गर्‍यो नै टी-ट्वेन्टीमा समेत उत्कृष्ट प्रदर्शन गर्‍यो ।

लिग टुमा खराब लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदानमा क्यानडा र अमेरिकासँगको सिरिजमा कमजोर प्रदर्शन गरेको थियो । एकदिवसीय मान्यता जोगाउन पनि नेपाललाई लिग टुमा पुनरागनको खाँचो थियो । यस्तोमा नेपालका लागि स्कटल्यान्ड भ्रमणमा पूरा गर्नुपर्ने धेरै कुरा थिए । एसोसिएट राष्ट्र नेपाललाई युरोपको अवस्थाबारे कमै थाहा हुन्छ । त्यसमाथि स्कटल्यान्ड र नेदरल्यान्ड नेपालका लागि लिग टुमा सबैभन्दा बलिया विपक्षी थिए । 

तर नेपाल क्रिकेट संघ (क्यान) ले यूके भ्रमणका क्रममा लिग टु सिरिजअघि स्कटल्यान्ड ‘ए’ सँगको खेल नेपाली खेलाडीको क्षमता जाँच र क्रिजको परीक्षणका लागि सफल बन्यो । यता, खेल सिनारियो सिर्जना गरेर त्यसकै आधारमा खेलाडी छान्ने स्टुअर्ट लको रणनीति कति बलियो छ भन्ने परीक्षण हुनेवाला थियो । आईसीसी विश्वकप लिग टुको कमजोर अवस्थाको सुधार र आउँदो टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटको तयारी नेपालको प्रमुख लक्ष्य थिए । नेपालले धेरै क्षेत्रमा सफलता पाएको छ ।

विदेशी मैदानमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको भनेर आलोचित बन्दै आएको नेपाली क्रिकेट टिमको प्रदर्शनमा यस पटक उल्लेख्य सुधार देखियो । विषम परिस्थितिमा पनि उत्कृष्ट ब्याटिङ र धारिलो बलिङ गरेर लिग टुका चारमध्ये नेपालले तीन खेलमा जित हात पार्‍यो । अर्को एक खेलमा पनि दुई रनको झिनो हार बेहोर्‍यो । नेपालले लिग टुको विदेशी भूमिमा भएको सिरिजमा अहिलेसम्मकै यो उत्कृष्ट नतिजा हो ।

म्याच विनरका रूपमा रहे पनि खराब लयमा रहेका सन्दीप लामिछाने यही सिरिजबाट लयमा फर्किएका छन् । यसले भविष्यमा नेपाली टिमको आशा जगाएको छ ।

नेपालले बलियो विपक्षी स्कटल्यान्डविरुद्ध उसकै घरेलु मैदानमा एक विकेटको जित निकाल्नु पुनरागमनको उत्कृष्ट उदाहरण हो । यसले नेपाली मध्यक्रम र पछिल्लो अर्डरले दबाबको अवस्थामा समेत जित निकाल्न सक्ने क्षमताको विकास भएको देखाउँछ । करण केसीले लोअर अर्डरमा पनि धुरन्धुर ब्याटिङ गर्दै आफ्नो रोल र क्षमतालाई प्रस्ट्याएका छन् ।

योसँगै नेपालले लिग टुमा तीन जितसहित ६ अंक थप गर्न सक्यो । अहिले नेपाल सातौं स्थानमा रहे पनि छैटौं स्थानको नामिबियासँग अंक दूरी घटाएको छ । नेपालको जम्मा १६ खेलबाट १२ अंक भएको छ । तर अझैसम्म नेपाल शीर्षस्थानको अमेरिकाभन्दा १६ अंकले पछि छ ।

धेरैलाई लागेको थिएन कि दीपेन्द्रसिंह ऐरीले पनि पावर प्लेमा उत्कृष्ट बलिङ गर्न सक्छन् । तर स्टुअर्ट लको उनलाई अघि ल्याउने रणनीति सही बनेको छ । ऐरीले दुई सिरिजमा पाँच विकेट लिए ।

त्यसैगरी, तीन देशीय टी-ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालका तीन खेलाडी किरणकुमार ठगुन्ना, रूपेश सिंह र भीम सार्कीले डेब्यू गरे । चार खेलमा अवसर पाएका किरण ठगुन्नाले २ विकेट लिए भने एक खेलमा अविजित ४३ रन बनाए । उनले आफूलाई आवश्यक परेमा देशका लागि अलराउन्ड प्रदर्शन गर्न सक्ने संकेत दिएका छन् । 

भीम सार्कीले टी-ट्वेन्टीमा औसत सुरुआत गरेका थिए । सिरिजमा नेपालले दुई खेल जितेर दुई खेलमा हार बेहोरेको भए पनि यो सिरिजमा खेलाडीले फाइटिङ स्पिरिट र बढ्दो आत्मविश्वासको नमूना प्रस्तुत गरेका छन् । यो सिरिजका खेलले स्टुअर्ट लको नेतृत्वमा नेपाली टिमको स्वभाव र चरित्र प्रस्तुत गरेको छ । 

तर अझैसम्म पनि शीर्ष क्रममा देखिएको अस्थिरता सुधारिएको छैन । अब नेपालले डेथ बलिङ सुधार्न आवश्यक छ भने महत्त्वपूर्ण खेलमा क्याच गुमाउनुले घाटा लाग्न सक्ने देखाएको छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।