काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)- २०२५ को तयारीलाई तीव्रता दिँदै सुदूरपश्चिम रोयल्सले शनिबार आधिकारिक रूपमा रिटेन तथा रिलिज गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ ।
टिम व्यवस्थापनले लामो रणनीतिक योजना अनुरूप टिमको ढाँचा मजबुत बनाउन र भविष्यका चुनौतीहरू सामना गर्न यो निर्णय लिएको बताइएको छ ।
सुदूरपश्चिम रोयल्सले समान ६-६ खेलाडीलाई रिटेन र रिलिज गरेको हो । साविक उपविजेता सुदूरपश्चिमले यसपटक पनि राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई मार्की खेलाडीको रूपमा कायम राखेको छ । ऐरीको अनुभव, कप्तानी क्षमता र खेलमा देखिएको निरन्तरता टोलीको मेरूदण्ड बन्ने अपेक्षा गरिएको छ ।
दिपेन्द्रसँगै, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई पनि रिटेन गरिएको छ । यी खेलाडीहरूले अघिल्लो सिजन स्वदेशी खेलायीको रूपमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई स्थायित्व दिँदै टिमलाई फाइनल सम्म पुर्याएका थिए ।
यसैबीच अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरिएको छ । यो निर्णय टोलीको दीर्घकालीन योजना, युवा खेलाडीको विकास र खेल संरचनामा आवश्यक सन्तुलनलाई ध्यानमा राखेर गरिएको सुदूरपश्चिम रोयल्सले जनाइएको छ ।
सुदूरपश्चिम रोयल्सले रिलिज गरेका सबै खेलाडीहरूप्रति आभार व्यक्त गर्दै उनीहरूको भविष्य सफल र उज्ज्वल रहोस् भन्ने शुभकामना समेत दिएको छ ।
टोलीले निकट भविष्यमा हुने खेलाडी ड्राफ्ट तथा ट्रायलमार्फत् नयाँ प्रतिभावान खेलाडीहरू भित्र्याउने योजना बनाएको छ । सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै आएको फ्रेन्चाइज टोलीले आगामी सिजन अझ प्रतिस्पर्धात्मक टिम निर्माण गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।