काठमाडौँ । फिफा क्लब विश्वकपअन्तर्गत समूह 'ई' को खेलमा इटालियन टोली इन्टर मिलानले जापनको उरावा रेड डाइमण्ड्सलाई दुई-एक गोलले पराजित गरेको छ । हारपछि जापानी टोलीको क्लब विश्वकप यात्रामा पूर्णविराम लागेको छ ।
गएराति सिएटलमा सम्पन्न खेलमा रेड डाइमण्ड्सले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । ११औँ मिनेटमा र्योमा वातानाबेको गोलमार्फत् रेड डाइमण्ड्सले सुरुवाती अग्रता लिएको थियो ।
१९औँ मिनेटमा अर्जेन्टिनी स्ट्राइकर लाउटारो मार्टिनेजको हेडर क्रसबारमा लागेपछि इन्टरले बराबरी गर्ने मौका गुमाएको थियो । ७८औँ मिनेटमा निकोला बरेल्लाको कर्नरमा लाउटारोले उत्कृष्ट बाइसिकल किकमार्फत् बराबरी गोल गरे ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा वैकल्पिक खेलाडी भ्यालेन्टिन कार्बोनीले सहज गोल गर्दै इन्टरलाई पहिलो जित दिलाए । लगातार दोस्रो हारसँगै रेड डाइमण्ड्स प्रतियोगिताबाट बाहिरिएको छ । २ खेलमा ४ अंक जोडेको इन्टर समूहको शीर्ष स्थानमा छ ।