तीनै तहका सरकारले चासो देखाए पनि मधेश प्रदेशमा लागूऔषध कारोबार नियन्त्रणमा आउनै सकेन

कारोबारी र प्रयोगकर्ता बढेको बढ्यै, ११ महिनामै ६ सय ५८ जना पक्राउ
असार ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
तीनै तहका सरकारले चासो देखाए पनि मधेश प्रदेशमा लागूऔषध कारोबार नियन्त्रणमा आउनै सकेन

काठमाडौं । नेपाल-भारत खुला सीमाका कारण मधेश प्रदेशमा लागूऔषधको समस्या विकराल बन्दै गएको छ। केही वर्षअघिसम्म भारतीय बजारबाट प्रतिबन्धित औषधिको ओसारपसार हुँदै आए पनि पछिल्लो समय प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कले ब्राउन सुगरको कारोबारसमेत बढेको देखिन्छ ।

गएको जेठ २ गते साँझ ७ बजे प्रहरीले सिरहाको लहान नगरपालिका लबटोलीबाट ब्राउन सुगर र नगदसहित २६ वर्षीया किरणकुमारी यादव र ३२ वर्षीय दिनेशकुमार यादवलाई पक्राउ गर्‍यो। 

मोटरसाइकलमा गइरहेको अवस्थामा २२ दशमलव ९० ग्राम ब्राउन सुगर र ५१ हजार ४ सय ५० रूपैयाँ नगदसहित पक्राउ परेका दाजु र बहिनीलाई केरकार गरेपछि प्रहरीले उनीहरूको घरवाट थप १ सय ८० ग्राम ब्राउन सुगर र ३५ हजार ७ सय ८० भारतीय रूपैयाँ बरामद गर्‍यो । 

त्यसलगतै सिरहाकै औरही गाउापालिका बरियारपट्टीबाट २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायको साथबाट ७ सय १० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।

यसअघि पनि २०८० साउन ३० गते साढे ३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका दिनेश यादव ६ महिना जेल सजाय भुक्तान गरी छुटेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष २०७९/८०मा १ सय ७० ग्राम र ४ सय ८१ मिलिग्राम खैरो हिरोइन ब्राउन सुगरसहित ३८ जना, २०८०/८१मा २ सय १६ ग्राम र ८ सय ३४ मिलिग्राम खैरो हिरोइनसहित ५५ जना र चालु आर्थिक वर्षको जेठ मसान्त भित्र १ किलो ३ सय ५६ ग्राम ब्राउन सुगरसहित ६९ जना पक्राउ परेका छन् । यसरी हेर्दा मधेश प्रदेशको सिरहा ब्राउन सुगर कारोबारी र सेवनकर्ताहरूको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ ।

गएको जेठ ९ गते मधेश प्रदेशको सुरक्षा गोष्ठीमा केन्द्र र प्रदेशका सबै अंगका उच्चपदस्थ सुरक्षा अधिकारीहरूको अगाडी लागु औषधको कारोबार फस्टाउँदै गएको र कुलतमा लाग्ने युवाहरूको संख्या दिनप्रतिदिन बढ्दै गएकोमा मुख्यमन्त्री र संघीय सरकारका गृहमन्त्रीले गहिरो चिन्ता व्यक्त गरेपनि यस्को रोकथामका लागि के गर्दै छन् त सुरक्षा अधिकारी ?

सुरक्षाकर्मीले लागु औषध ओसारपसार र सीमापारी सेवन गर्न जानेहरूमाथि निगरानी र नियन्त्रणका अभियान चलाए पनि भारतसँग जोडिएको ४ सय ६४ किलोमिटर खुल्ला सिमाना क्षेत्रका जनप्रतिनिधिहरूलाई कुनै मतलब नै छैन । कुलतमा फसेका आफ्नो गाँउठाउँका युवाहरूको बारेमा जानकारी हुदाँहुदै पनि आखिर किन मौन बसेका छन् जनप्रतिनिधिहरू ?

मधेश प्रदेश प्रहरीका तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८०मा १३ सय ४, २०८०/८१मा ११ सय ८ र चालु आर्थिक वर्षको वैशाख भित्र, ब्राउन सुगर, हफिम, प्रतिवन्धित औषधि, गााजा, चरेसलगायत विभिन्न खाले लागु औषधसहित ६ सय ५८ जना पक्राउ परेका छन् । यस मध्ये सबभन्दा बढी ६ सय ३२ वटा मुद्दामा ८ सय ९८ जना बीरगन्ज पर्साका रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.