रामेछाप–चरिकोट सडक खण्ड पहिरोले अवरुद्ध

असार ८, २०८२ |नवराज श्रेष्ठ
रामेछाप–चरिकोट सडक खण्ड पहिरोले अवरुद्ध

रामेछाप । पुष्पलाल मार्ग अन्तर्गत पर्ने रामेछापको मन्थली–चरिकोट सडक खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ। गएरातिको निरन्तर वर्षापछि रामेछाप र दोलखाको सिमाना भएर बग्ने खिम्ती पुलको पारि पट्टी दोलखातर्फ पहिरो खस्दा सडक बन्द भएको हो।

धेरै ठुलो पहिरो नआएकाले सडक खुलाउनका लागि डोजर परिचालनको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो । स्थानीय प्रशासनले पहिरोको जोखिम अझै कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले खिम्ती खोला आसपासका क्षेत्रहरूमा आज बाढी र पहिरोको सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन अपिल गरेको छ। लगातारको वर्षाले भूस्खलनको जोखिम बढेकाले यात्रा नगर्न सुझाव दिइएको छ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।