रामेछापमा निर्माण सम्पन्न नहुँदै पक्की पुल भत्कियो

असार ८, २०८२ |नवराज श्रेष्ठ
रामेछापमा निर्माण सम्पन्न नहुँदै पक्की पुल भत्कियो

रामेछाप । रामेछापमा निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै भत्किएको छ । जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडिखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भत्किएको हो । 

यो पुल निर्माणका क्रममा गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो । त्यसपछि सो भाँचिएको स्ल्याब निर्माण कम्पनीले पुननिर्माण गरिरहेको थियो । तर आइतबार बिहान सोही भाँचिएको स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको मन्थली नगरपालिका–७ मुगिटारका सुरज श्रेष्ठले बताउनुभयो । पुल भत्किएपछि अहिले सो ठाउँमा स्थानीयहरुको भिड लागेको छ ।

यो पुल २०८२ साल भदौ अन्तिमसम्म म्याद भए पनि आगामी असारमा निर्माण सम्पन्न हुने चर्चा भएको थियो । कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको पुल भत्किएको हो । २०७८/७८ मा सडक विभागको पुल शाखाले ठेक्का लगाएको उक्त पुल डिजाइन एन्ड विल्ड प्रकृतिको हो । कुल २ सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडामा सनर्माण भइरहेको थियो ।

सरकारले पुल निर्माणका लागि भ्याट र पि एस आईटम बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो । उक्त रकम मध्ये करिब ६० प्रतिशत भन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिसकेको छ ।

यो पुल निर्माण पश्चात् काठमाडौँ रामेछापका लागि सहज यात्रा हुने आसा गरिएको थियो । यो पुल बनेपछि मन्थली खुर्कोट सडक हुँदै छोटो दुरीमा मन्थली नगरपालिका–७ भटौली सहित खाँडादेवी, दोरम्बा शैलुङ गाउँपालिकाको विभिन्न वडा पुग्न सहज हुने विश्वास लिइएको थियो ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।