काठमाडौँ । इरानका आणविक केन्द्रमा हवाइ आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्नुभएको छ । आणविक केन्द्रहरूमा अमेरिकी सेनाले गरेको हवाई आक्रमणबारे ट्रम्पले जानकारी दिनुभएको हो ।
ह्वाइट हाउसबाट गरिएको सम्बोधनमा इरानका प्रमुख आणविक केन्द्र पूर्णरूपमा ध्वस्त पारिएको ट्रम्पले दाबी गर्नुभएको छ । आक्रमण एक सानदार सैन्य सफलता रहेको ट्रम्पको भनाइ छ ।
ट्रम्पले इरानका लागि थप भयावह स्थिति आउनसक्नेसमेत चेतानवी दिनुभयो । ट्रम्पले सम्बोधन गरिरहँदा उहाँको पछाडि उपराष्ट्रपति जे.डी. भान्स, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथ उभिएका थिए ।
अमेरिकी सेनाले इरानका तीन परमाणु केन्द्र फोर्डो, नातान्ज र इस्फाहानमा केही घण्टाअघि आक्रमण गरेको थियो । आक्रमण ६ वटा बङ्कर बस्टर बममार्फत् भूमिगत फोर्डो केन्द्रलाई लक्ष्य बनाइ सुरु गरिएको थियो । त्यसपछि ३० वटा टोमहक क्षेप्यास्त्र नातान्ज र इस्फाहानमा प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो आक्रमण बी-टू बमवर्षक विमानहरूबाट गरिएको पनि आधिकारिक रुपमा पुष्टि भएको छ ।
ट्रम्पले संसारमा यस्तो कारबाही गर्न सक्ने अर्को कुनै सेना नभएको र शान्तिको समय आएको समेत बताउनुभयो । अमेरिकामा भने महत्वपूर्ण विदेश नीतिसम्बन्धी निर्णयमा संसद्को स्वीकृति नलिइएको भन्दै ट्रम्पको निर्णयको तीब्र आलोचना भएको छ ।
उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका आणविक स्थलहरूमा बम प्रहार गर्ने निर्णयलाई साहसी निर्णय भन्दै प्रशंसा गर्नुभएको छ । ट्रम्पको निर्णयले इतिहास नै परिवर्तन गर्ने दाबी पनि नेतन्याहूले गर्नुभएको छ ।