स्कटल्यान्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले ५ विकेट गुमाई एक सय ९३ रन बनाएको थियो । जर्ज मुन्जी र ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै दोस्रो विकेटमा एक सय रनको साझेदारी गरेका थिए। यससँगै शीर्षक्रमले स्कटल्यान्डलाई विशाल लक्ष्यमा उभ्याएका थिए । गएरातिको खेलमा पनि ओपनर मार्क वाट भने चल्न सकेनन्।
उनी रूपेश सिंहको बलमा ९ रनमै बोल्ड भए । त्यसपछि अर्का ओपनर मुन्जीले ३९ बल खेली ५ चौंका र ६ छक्का प्रहार गरी ७८ रन बनाए। साथै, म्याकमलेनले ३० बलमा ४ चौका र १ छक्कासहित ४२ रनको योगदान गरे।
त्यसपछि कप्तान रिची बेरिङटन ९, फिन्ले म्याकक्रिथ १ रनमा आउट भएका थिए। म्याथ्यु क्रस १३ बलमा दुई बाउन्ड्रिसाथ १७ र माइकल लिस्क २६ रनमा अविजित रहेका थिए।
जवाफमा नेपाल १८ दशमलव ५ ओभर खेली एक सय ५९ रनमा अलआउट भएको हो। नेपालका लागि रूपेश सिंह ४३ रन बनाई अविजित रहे । उनले २२ बल खेली १ चौंका र ३ छक्का प्रहार गरे ।
नेपालबाट सर्वाधिक ८१औं ट्वेन्टी-२० अन्तर्राष्ट्रिय खेलका दीपेन्द्र सिंह ३४ रनमा आउट भए । उनले ३३ बल खेली समान १ चौका र छक्का प्रहार गरे । कुशल भूर्तेल ४, भीम सार्की १२, आसिफ शेख १४, आरिफ शेख र लोकेश बम समान ५ रनमा आउट भए ।
कप्तान रोहित पौडेलले २० बलमा४ चौंकासहित २७ रन बनाए । स्कटल्यान्डका क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन खर्चेर ३ र साफ्यान सरिफले २ विकेट लिए ।
डबल राउन्ड रोबिनमा आयोजित सिरिजमा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले समान २ जित र २ मा पराजय भोगे पनि नेट रनरेटमा स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै विजेता बनेको हो । नेपाल दोस्रो स्थानमा रह्यो ।
स्कटल्यान्डसँगको खेलअघि नेपालले प्रतियोगिताको पहिलो तीनमध्ये २ खेलमा जित हात पारेको थियो । नेदरल्यान्ड्ससँग आइतबार नेपाल तीन सुपर ओभरमा पराजित भएको थियो । स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार विजय हात पारेको थियो।