इडब्लुभीएल महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि हुने

असार ६, २०८२ |खेल ब्युरो
इडब्लुभीएल महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि हुने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग इडब्लुभीएलको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले आज प्रेस विज्ञप्ति जारी गर्दै लिगको मिति सार्वजनिक गरेको हो ।

नेपाल भलिबल संघको स्वीकृतिसहित प्रतियोगिता तय गरिएको आयोजकले जनाएको छ । भदौको तेस्रो साता तय गरिएको लिगको तयारी तीव्ररूपमा अघि बढाइएको छ ।

महिला भलिबलको फ्रेन्चाइज लिग इडब्लुभीएलको पहिलो संस्करण गत वर्ष भएको थियो । सो संस्करणमा कर्णालीले ललितपुर क्विन्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

महिला भलिबलको लोकप्रियता बढाउन र प्रतिभावान खेलाडीलाई अगाडि ल्याउने उद्देश्यसहित इडब्लुभीएल सञ्चालन हुँदै आएको छ ।