इरानमा रहेका नेपालीलाई भारतले उद्धार गर्ने

असार ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
इरानमा रहेका नेपालीलाई भारतले उद्धार गर्ने

काठमाडौं । इजरायल-इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ । 

नेपाल सरकारको अनुरोधमा उनीहरूलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री डा. राणाले भन्नुभयो, 'इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरूले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नविन श्रीवास्तवमार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ । हामीहरू उहाँहरूको सहयोगको प्रतिक्षामा छौँ ।'

केही दिनयता जारी इजरायल-इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा. राणाले भारत सरकारसँग सो आग्रह गर्नुभएको थियो । यस प्रयोजनका लागि मन्त्री डा. राणाले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको थियो ।

इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरू र इरानस्थित भारतीय दूतावासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहनुभएको छ ।

यससँगै भारतीय दूतावासले नेपाल र त्यहाँ स्थित श्रीलंकाली नागरिकहरूलाई पनि सम्पर्कमा आउन भनेको छ । १६ नेपालीमध्ये अध्यागमन सम्बन्धी कानुनका कारण पाँच जना नेपाली इरानी जेलमा रहेकाले उनीहरूलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.