सर्लाही । सर्लाहीको बरहथवामा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षकसहित चारजना घाइते भएका छन् । प्रहरीले हवाइ फायर गरी स्थिती नियन्त्रणमा लिएको छ ।
बरहथवा नगरपालिका-४, खैराटोलमा सडक ढलानको बिषयलाई लिएर दुई पक्षबीच झडप भएको हो । एक पक्षले निजि जमिनमा सडक ढलान हुनलागेको भन्दै विरोध जनाएपछि विवाद सुरूभएको थियो ।
विवाद झडपसम्म पुग्दा प्रहरीले नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक योगेन्द्र कुमार खडकाले जानकारी दिनुभयाे । झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित चारजना घाइते भएका छन् ।
प्रहरी निरीक्षक दीवाकर झडप नियन्त्रणमा लिनेक्रममा र अन्य तीनजना स्थानीय झडपमा परेर घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई उपचारकालागी अस्पताल लगिएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बरहथवा तथा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट थप मद्दत टोली पुगेको छ । झडप नियन्त्रणमा आइसकेकाले अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खैराटोलमा सडक विस्तार गरेर ढलान गर्नेक्रममा बिहीबार केही महिला र पुरूष मिलेर एक जना महिलालाई लछारपछार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।