चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

असार ७, २०८२ |राजु चौधरी
चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

चितवन । पुर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका-४ खहरेपुलमा यात्रुबाहक बस र इलेक्ट्रीक माइक्रोबस एक-आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान सवा १० बजे धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०३-००१ ज २९९ नम्बरको इभी गाडी एक-आपसमा ठक्कर खाँदा ७ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मकवानपुर हटिया-३ बस्ने बर्ष ५५ को सोम प्रसाद रूपाखेती, हेटौंडा-५ बस्ने वर्ष ५३ की मैंया कुमारी न्यौपाने पहाडी, सनाखत नभएका वर्ष १८ देखि २५ वर्षका २ महिला, ३५ वर्षका गर्भवती महिला, २३ र ४० वर्षका दुई पुरूष रहेका छन् ।

५ जनाको भरतपुर अस्पताल र २ जनाको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । उनीहरूको अहिले उपचार भइरहेको छ । दुर्घटना पछि केहिबेर राजमार्ग अवरूद्ध भएको थियो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।