काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार शहीद स्मारक 'ए' डिभिजन लिग २०८० को अन्तिम खेलको नतिजा उल्ट्यायो । थ्री स्टारको जितलाई जावलाखेल युथ क्लबको पक्षमा ३-० ले नतिजा उल्ट्याएको भन्दै क्लबहरूलाई पत्र पठायो ।
यो निर्णय एन्फाको अपिल कमिटीले गरेको थियो । र, यो केबल एक खेलको नतिजा मात्रै थिएन । यसले विभागीय टोली नेपाल एपीएफ क्लब र थ्री स्टारमध्ये को बी डिभिजन लिगमा घटुवा हुने भन्ने पनि निर्णय गर्यो । यसले नेपाली फुटबलमा एउटा फरक बहस सिर्जना गरेको छ ।
विसं २०८० जेठ २९ गते शहीद स्मारक 'ए’ डिभिजन लिगको समापन खेलमा दशरथ रंगशालामा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा थियो ।
रेलिगेशन अर्थात् घटुवा हुनबाट बच्न खेल जित्नैपर्ने दबाबका बीच थ्री स्टारले पेनाल्टीमार्फत गोल गर्दै १-० ले खेल जित्यो । र, 'ए’ डिभिजन लिग क्लबको मान्यता पनि जोगायो । परिणामतः नेपाल एपीएफ क्लब रेलिगेशनमा पर्यो । यो खेलमा विदेशी खेलाडी मार्टिन र पिटर सेगुनले भिसा नभए पनि खेलेका थिए ।
तर, दुई वर्ष एक हप्तापछि खेलाडीको भिसा अवधि सकिएको भन्दै एन्फाको अपिल कमिटीले बिहीबार थ्री स्टारको जित उल्ट्याउँदै 'बी’ डिभिजन लिगमा घटुवा गरिएको पत्र पठाएको छ । भर्खरै मात्र स्थापनाको ५० वर्ष पुगेर स्वर्ण उत्सव मनाएको यो क्लब अहिले आफ्नो लिगेसी नै संकटमा परेको भन्दै दुखेसो पोखिरहेको छ ।
हुन त विश्वभरि नै व्यावसायिक लिगमा नतिजा उल्ट्याइएका उदाहरण छन् । सन् २००६ मा इटालियन क्लब युभेन्टसले सिरी आको उपाधि जितेको भए पनि उसको उपाधि खोसेर दोस्रो डिभिजनमा घटुवा गरिएको थियो ।
एन्फा सहमहासचिव बद्री भट्टराईका अनुसार अपिल कमिटीले फिफा र एएफसीको निर्देशिकामा रहेर निर्णय गर्ने हुँदा राजनीतिक दबाबमुक्त हुने बताउँछन् । एन्फा प्रवक्ता सुरेश शाह अपिल कमिटीको निर्णय अनिवार्य लागू गर्नुपर्ने हुँदा यो निर्णय नै अन्तिम भएको बताउँछन् । यद्यपि, थ्री स्टार क्लबलाई खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्टस् वा अदालत जाने छुट भने रहेको उनी बताउँछन् ।
यता थ्री स्टारले भने खेलाडीको श्रम स्वीकृति रहेको र एन्फा कनेक्टमा दर्ता भएकाले एन्फाले नै खेलाउन दिएको भन्दै अहिले यस्तो कारबाही अस्वीकार्य हुने बताएको छ ।
त्यसो त, खेलाडीलाई लिएर एन्फाले गरेका अरू निर्णय पनि क्लबमैत्री नभएको क्लबहरूको बुझाइ छ । गत महिना सम्पन्न शहीद स्मारक 'बी’ डिभिजन लिगमा सरस्वती क्लबका खेलाडीलाई गरिएको कारबाहीमा पनि प्रक्रियागत त्रुटि देखिएको थियो ।
अर्कोतर्फ, क्लब र फुटबल संघबीचको तनावले लिग धकेलिने, व्यवस्थित नहुने र खेलाडीलाई असर पर्ने काम पनि भइरहेको छ । थ्री स्टारको यो नियति भोलि अरू क्लबले पनि बेहोर्नुपर्ने हुन सक्छ । जसले समग्र लिग र क्लबहरूको भविष्यमै असर गर्न सक्छ । त्यसैले यस्ता निर्णयको प्रक्रिया पारदर्शी भने हुनुपर्छ ।