काठमाडौं । रूसका ड्यानियल मेदभेदेभ ह्याल ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
जर्मनीमा भएको खेलमा तेस्रो वरीयताका मेदभेदेले घरेलु फभरेट ड्यानियल अल्टमायरलाई सोझो सेटमा पराजित गरेका हुन् । मेदभेदेभले वाइल्ड कार्डमार्फत् प्रवेश पाएका अल्टमायर विरुद्धको पहिलो सेट ६-३ ले जितेका थिए ।
विम्बल्डनको तयारीमा रहेका उनले दोस्रो सेट पनि सहजै आफ्नो पक्षमा पारे । यो सेट मेदभेदेभले ६-३ ले नै जितेपछि अघिल्लो चरणमा स्थान सुरक्षित गरे । उनले केवल ६३ मिनेटमा खेल आफ्नो पक्षमा पारेका हुन् । सन् २०२५ मा मेदभेदेभको यो २०औँ जित हो ।
अघिल्लो साता डेन बोसमा क्वार्टरफाइनलबाटै बाहिरिएका मेदभेदेभ पुनरागमनको प्रयासमा छन् । पूर्व युएस ओपन तथा सन् २०२२ का ह्याल ओपन उपविजेता मेदभेदेभले ६ मध्ये तीन ब्रेक पोइन्टको अवसरलाई सदुपयोग गरेका थिए ।
उनले २०२१ मा मयोर्कापछि ग्रास कोर्टमा अहिलेसम्म उपाधि जितेका छैनन् । ग्रिक खेलाडी स्टेफानोस चिचिपासले पनि दोस्रो चरणमा स्थान बनाएका छन् । उनले इटालीका लुजानो दार्देइमाथि तीन सेटको जित हात पारेका हुन् ।
चिचिपास सन् २०१८ यता पहिलो पटक बिना वरीयता यो प्रतियोगिता खेलिरहेका छन् । उनले पहिलो सेटमा तीन-दुई अंकको अग्रता तोडेका थिए । यो सेट चिचिपासले ६-४ ले जिते । दोस्रो सेटमा भने लुजानाले पुनरागमन गर्दै ६-३ ले चिचिपासलाई हराए ।
तेस्रो तथा निर्णायक सेट प्रतिस्पर्धात्मक बन्यो । यद्यपि टाइब्रेकरमा चिचिपास ७-६ ले विजयी भए ।