काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको भूमिमा भएको लिग टू मा उत्कृष्ट प्रदर्शन गरेको नेपाल टी-ट्वेन्टीमा पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।
नेपालले आज एक सयौं टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेल्दैछ । नेपालले सन् २०१४ मा टी-ट्वेन्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेको थियो ।
ग्लास्गोमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । टी-ट्वेन्टीका लागि प्रशिक्षक स्टुअर्ट लले लिग टू स्क्वाडबाट तीन खेलाडी परिवर्तन गरेका छन् । लोकेश बम, किरण ठगुन्ना र रूपेश सिंह टिममा थपिएका छन् ।
टी-ट्वेन्टी विश्वकप छनोटको तयारीस्वरूप नेपालले सिरिज खेल्न लागेको हो । यसअघि भएको ५० ओभरको दुवै खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो । नेदरल्यान्ड्स आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएकाले पुनरागमन गर्ने प्रयासमा हुनेछ ।
पछिल्ला पाँच खेलमा नेपाल दुई र डच तीन पटक विजयी भएको थियो । नेपालले यसअघिका पाँच खेल नै घरेलु मैदानमा खेलेको थियो । टी-ट्वेन्टी आईका पछिल्ला दुई खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराउन सकेको छैन । तर, लयमा रहेको नेपालले नेदरल्यान्ड्सलाई हराउने अपेक्षा गरिएको छ ।