बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँः सांसद यादव

असार ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँः सांसद यादव

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथिको छलफल नराख्न आग्रह गर्नुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । समयको चापलाई हेरेर समितिको बैठक राख्न उहाँले आग्रह गर्नुभयो । 

समितिमा आज नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बधमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल थियो । संसद् बैठक पनि आज नै बस्ने र बजेटको बारेमा पनि छलफल गर्नुपर्ने भएकाले बजेट सेसनमा विधेयकमाथि संसदीय समितिमा छलफल नगर्न उहाँले आग्रह गर्नुभयो । 

यसले संशोधनकर्ता सदस्यहरूले पनि राम्रोसँग संशोधनबारे छलफल गर्न नपाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘समयको व्यस्ततालाई हेरौँ । समयको पावन्दी पनि हेरौँ । बरू बिदाको दिन बोलाउनुस् हामी आउँछौँ तर बजेटको सेसनको बेलामा बोलाउँदा संशोधनकर्ताहरू पनि आउनु हुन्न । हामीले पनि जति महत्व दिनुपर्ने हो त्यो दिन सक्छौँ की सक्दैनौँ ।’

समितिमा पनि विधेयकलाई राम्रो बनाउनका लागि आवश्यक समय दिन नसकिने उहाँले स्पष्ट पार्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.