त्रिकोणत्मक टी-२० आईमा नेपाल र नेदरलयान्ड्सबीच रोमाञ्चक प्रतिस्पर्धा, तेस्रो सुपर ओभरमा नेपाल पराजित

टी-ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपालको एक सय खेल पूरा
असार ३, २०८२ |खेल ब्युरो
त्रिकोणत्मक टी-२० आईमा नेपाल र नेदरलयान्ड्सबीच रोमाञ्चक प्रतिस्पर्धा, तेस्रो सुपर ओभरमा नेपाल पराजित

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणत्मक टी-ट्वेन्टी आई सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ । 

नेपालको एक सयौँ टी-ट्वेन्टी अन्तर्राष्ट्रिय रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । टी-ट्वेन्टी र लिस्ट एमा तेस्रो पटक सुपर ओभर भएको यो पहिलो पटक हो ।

ग्लास्गोमा रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिए । नेपालले रूपेश सिंह र किरण ठगुन्नालाई टी-ट्वेन्टी आईमा डेब्यू दिएको थियो । नेदरल्यान्ड्सले सात विकेट गुमाएर एक सय ५२ रनको योगफल बनायो । 

ओपनर म्याक्स ओ डाउड १९ रनमा ललित राजबंशीको बलमा आउट भए । सातौँ ओभरमा सन्दीप लामिछानेले दुई विकेट लिँदै डच टिमलाई दबाबमा राखे । उनले माइकल लेभिटलाई २० र स्कट इडवर्डसलाई एक रनमा आउट गरेका हुन् । 

विक्रमजित सिंहले ३०, तेजा निदा मानुरुले ३५ र सकिव जुल्फिकरले २५ रन जोडे । सन्दीपले तीन, नन्दन यादवले दुई तथा ललित र कुशल भूर्लेतलले एक-एक विकेट हात पारे । 

जवाफमा नेपालले पनि २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ५२ रन नै बनाएपछि खेल टाइ भयो । लोकेश बम गोल्डेन डकआउट भए । अनिल साह एक रनमा पभेलिएन फर्किए । कुशलले ३४, दिपेन्द्र सिंह ऐरीले तीन र किरणले २५ बलमा १५ रन जोडे । रोहितले ४८ रन बनाएका थिए । 

नेपाललाई जितका लागि अन्तिम ओभरमा १६ रन आवश्यक थियो । नन्दनले काइल क्लेइनलाई चौका प्रहार गरेपछि खेल सुपर ओभरमा पुगेको हो । ड्यानिल डोरमले तीन र विक्रमजितले दुई विकेट लिए । पहिलो सुपर ओभरमा रोहित र कुशलले एक विकेट गुमाएर १९ रन प्रहार गरे । 

डोरमलाई कुशलले दुई चौका र एक छक्का हिर्काएका थिए । नियमित समयमा डोरमले चार ओभरमा मात्र १४ रन खर्चिएका थिए । अन्तिम बलमा कुशल आउट भए । जवाफमा नेदरल्यान्डसका लेभिट र म्याक्स ओ डाउडले पनि करण केसीलाई १९ रन नै प्रहार गरे । त्यसपछि दोस्रो सुपर ओभर भयो । ब्याटिङमा आए इडवर्डस र लेभिट । ललितले एक विकेट लिदै १७ रन खर्चिए । 

चेजमा नेपालका लागि रोहित र दीपेन्द्र क्रिजमा थिए । क्लाइनलाई अन्तिम बलमा दीपेन्द्रले छक्का हानेपछि यो पनि टाइ भयो । तेस्रो सुपर ओभर भने नेपालका लागि बिर्सनलायक रह्यो । ब्याटिङमा रूपेश र रोहित थिए । रूपेशले रनका लागि संघर्ष गरे । जाख लियोन क्याचेटले दुवैलाई आउट गर्दा नेपालले रन बनाउन सकेन । 

सन्दीपलाई लेभिटले छक्का प्रहार गर्दै नेदरल्यान्ड्सलाई जित दिलाए । जारी सिरिजमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । यसअघि उसले घरेलु टिम स्कटल्यान्डसँग हार बेहोरेको थियो । नेपालले आफ्नो दोस्रो खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।