क्लब विश्वकप : ग्रुप ‘जी’ मा भिड्ने छन् युरोप, एसिया र अफ्रिकाका बलिया टोली

म्यानचेस्टर सिटी बलियो दाबेदार
असार २, २०८२ |विनयज्योति सापकोटा
क्लब विश्वकप : ग्रुप ‘जी’ मा भिड्ने छन् युरोप, एसिया र अफ्रिकाका बलिया टोली

काठमाडौं । फिफा क्लब विश्वकप २०२५ आइतबारबाट सुरु भइसकेको छ । अमेरिकी भूगोलमा आयोजना भइरहेको यस प्रतियोगितामा ओसिनियासहित ६ महादेशका ३२ क्लब सहभागी छन् । प्रतियोगिताको रोचक समूह मानिएको छ ‘जी’ लाई, जहाँ युरोप र एसियाका बलिया टोलीहरू भिड्दै छन् । यस समूहमा छन्- इटालीको युभेन्टस, इङ्ल्यान्डको म्यानचेस्टर सिटी, संयुक्त अरब इमिरेट्सको अल ऐन र मोरोक्कोको विदाद एथ्लेटिक क्लब । यी टोलीका बलियो र कमजोर पक्ष के के छन् त ?

युभेन्टसका लागि क्लब विश्वकप पीडा भुल्ने मौका त हो नै ट्रफी क्याबिनेट विस्तार गर्ने अवसर पनि हो । सन् २०११ देखि २०२० को अवधिमा नौ पटक घरेलु लिग सिरी आको उपाधि जितेको युभेन्टस पछिल्ला पाँच वर्ष यता भने लिग जित्न असफल छ ।

गत सिजन थियागो मोटालाई मुख्य प्रशिक्षकका रूपमा भित्र्याएर ठूलो रकम खर्च गरी टिम विस्तार गरे पनि युभेन्टसले उपाधि खडेरी तोड्न सकेको थिएन । ट्रफीविहीन सिजनले समर्थकहरूमा असन्तुष्टि भरेकै बेला क्लबको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रशिक्षक इगोर टुडोरका लागि यो प्रतियोगिता आफूलाई प्रमाणित गर्ने अवसर हो । 

साथै विवादका कारण क्लबले बिदा गर्न चाहेका दुसान भालोविच, रेन्डल कोलोमुनी र फ्रान्सिस्को कोन्सेइकाओ तथा अघिल्लो घरेलु सिजनमा नौ गोल गरेका केनान यिल्डिज जस्ता युवा प्रतिभाका लागि क्लब विश्वकप एउटा गतिलो ‘एक्सपोजर’ हुनसक्छ । यिल्डिज यही प्रतियोगिताबाट आफूलाई विश्व मञ्चमा स्थापित गर्ने योजनामा छन् ।

तर युभेन्टसलाई सजिलो छैन । पहिलो खेलमै एसियाली च्याम्पियन अल ऐनसँग उसको सामना हुनेछ । यूएईको यो टोलीले सन् २०२४ मा एएफसी च्याम्पियन्स लिग जितेर सबैलाई चकित पारेको थियो । स्ट्राइकर काजो फो-दो लाबा जस्ता खेलाडीको प्रतिभाले फेरि पनि फुटबल फ्यानलाई ‘सरप्राइज’ दिनसक्छन् ।

चार सिजन प्रिमियर लिग जितेको म्यानचेस्टर सिटी पछिल्लो सिजन भने ट्रफीविहीन भयो । पुरानै लयमा फर्किने आशा सहित प्रशिक्षक पेप ग्वार्डिओलाले यो वर्ष खेलाडी किन्न मात्र १५ करोड अमेरिकी डलरभन्दा धेरै खर्च गरे । हायन सेकी, टियानी रेन्दर्स र एट नुरीलाई सिटीले अनुबन्ध गर्‍यो । यद्यपि, क्लब विश्वकपमा अधिकांश दर्शकको ध्यान अर्लिङ हालान्डतर्फ रहनेछ । अघिल्लो सिजन अपेक्षाकृत प्रदर्शन नगरे पनि अमेरिकी मैदानमा उनले धमाका मच्चाउने अनुमान छ ।

मोरोक्कन क्लब विदाद एथ्लेटिक अफ्रिकी फुटबलको गौरव हो । सन् २०२२ मा काफ च्याम्पियन्स लिग जितेर विश्वकपमा स्थान बनाएको यो क्लबमा नवआगन्तुक स्ट्राइकर सामुएल ओबेङको उपस्थितिले अग्रपङ्क्ति ऊर्जावान् हुने अपेक्षा छ ।

अघिल्ला प्रदर्शनका आधारमा ग्रुप ‘जी’ को प्रबल दाबेदार म्यानचेस्टर सिटी नै हो । यद्यपि, जुन २७ मा हुने युभेन्टसविरुद्धको खेलले समूहको अन्तिम स्थिति टुंगो लगाउने छ । युभेन्टस, अल ऐन र विदादसँग पनि जति बेलै अनुमानको समीकरण पल्टाउन सक्ने क्षमता छँदै छ ।

- एजेन्सीहरूको सहयोगमा


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।