‘देशलाई निकास दिन १७ दिनसम्म अवरूद्ध बनेको संसद् खुलाउन दुई बुँदे सहमति गरेका हौं’

असार ३, २०८२ |राजु चौधरी
‘देशलाई निकास दिन १७ दिनसम्म अवरूद्ध बनेको संसद् खुलाउन दुई बुँदे सहमति गरेका हौं’

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशलाई निकास दिन १७ दिनसम्म अवरूद्ध बनेको संसद् खुलाउन दुई बुँदे सहमति गरेको स्पष्ट पार्नु भएको छ ।

भरतपुरस्थित दाहालको निजी निवासमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले देश जेसुकै होस् संसद्मा अवरोध गरिराख्ने भन्ने पक्षमा माओवादी नरहेको भन्दै देशलाई सही दिशामा लैजान दुई बुँदे सहमती गर्न बाध्य भएको बताउनुभयो । 

बजेट पास गर्नुपर्ने, संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन, नागरिकसम्बन्धी ऐन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बाध्यता र ३० दिनभित्र छानबिन समिति बनाउने प्रतिबद्धतापछि मात्रै संसद्को अवरोध खुलाउन तयार भएको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले दुई बुँदे सहमती कार्यान्वयन नभए नयाँ ढंगले अघि बढ्ने बाटो खुला रहेको भन्दै भिजिट भिषा प्रकरणको एजेन्डा माओवादीले कहिल्यै नछाड्ने बताउनुभयो । 

उहाँले २०६४ सालदेखि नै भिजिट भिसामा समस्या रहेको तथ्य उजागर भइसकेको भन्दै यसलाई गम्भीर ढंगले समाधान गर्न माओवादी लागि पर्ने बताउनुभयो । अध्यक्ष दाहालले पार्टी भित्र अहिले कुनै समस्या नरहेको भन्दै उप-महासचिव जनार्दन शर्मालाई पार्टी छोड्न कहिल्यै नभनेको स्पष्ट समेत पार्नुभयो । 

अध्यक्ष दाहालले सरकारले ल्याएको बजेट बिचौलीको पोस्ने खालको मात्रै भएको आरोप लगाउनुभयो । उहाँले चितवनका धेरै योजनाहरू कटौती गरेको भन्दै प्रचण्ड र रेनुको जिल्ला भएकै आधारमा चितवनबासीलाई बजेटमा अन्याय गरेको बताउनुभयो । अध्यक्ष दाहाल पारिवारिक र सांगठनिक कार्यक्रम भन्दै ३ दिनदेखि चितवनमा हुनुहुन्छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।