फिफा क्लब विश्वकपमा चेल्सीकाे विजयी सुरूवात

असार ३, २०८२ |खेल ब्युरो
फिफा क्लब विश्वकपमा चेल्सीकाे विजयी सुरूवात

काठमाडौं । फिफा क्लब विश्वकपमा चेल्सीले विजयी सुरूवात गरेको छ । आफ्नो पहिलो खेलमा प्रिमियर लिग क्लबले घरेलु टिम लस एन्जलस एफसीलाई २-० गोलले पराजित गरेको हो ।

एटालान्टास्थित मर्सिडिज बेन्ज स्टेडियममा खेल स्थानीय समयअनुसार दिउँसो तीन बजे सुरू भएको थियो । खेलमा स्टेडियमका अधिकांश सिट भने खाली रहे । जम्मा २२ हजार एक सय ३७ समर्थक उपस्थित भएका थिए । यो स्टेडियमको क्षमता ७१ हजार हो । 

चेल्सीले ३४औँ मिनेटमा अग्रता लिएको थियो । पेड्रो नेटोले निकलस ज्याक्सनको पासमा गोल गर्दै डेडलक तोडेका थिए । पहिलो हाफमा चेल्सीले १-०को दूरी कायमै राख्यो । ५७औँ मिनेटमा लस एन्जलसले बराबरी गोल फर्काउने सुनौलो अवसर पाएको थियो । तर, डेनिस बुवाङगाको प्रहार चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले बचाए । 

७९औँ मिनेटमा एन्जो फर्नान्डेजले टिमका लागि दोस्रो गोल गरे । उनका लागि यसै खेलमार्फत् चेल्सीबाट डेब्यू गरेका लियाम डेलापले उत्कृष्ट क्रस दिएका थिए । सूमह डीमा रहेको चेल्सीले तीन अंक जोडेको छ । 

उसले अब आफ्नो दोस्रो खेलमा शुक्रबार फलामेगोसँग खेल्नेछ । फिफा विश्वकप आउन एक वर्ष बाँकी रहँदा एटालान्टामा देखिएको दर्शक संख्याले चिन्तित बनाएको छ ।