पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोटमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको जीप दुर्घटना हुँदा सवारी धनी बगनासकाली गाउँपालिका–१, चिर्तुङ्धारा गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११, मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुंगाना र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।
ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल तानसेनमा मृत्यु भएको हो । दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन् । खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
बोलेरो जीप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा झन्डै ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पूर्वखोलाबाट प्रहरी नायब निरीक्षक र प्रहरी चौकी ताँहुबाट खटिएका प्रहरी तथा स्थानीयले घाइतेको उद्धार गरी अस्पताल पठाएका थिए । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।