काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रले पनि बिजुलीको ब्यापार गर्न सक्ने गरी विधेयक बनिरहेकाले नेपाल विद्युत् प्राधिकरणले टेक एन्ड पे मा नै विद्युत खरिद गर्ने बताउनुभएको छ ।
यसअघि उर्जामन्त्री दीपक खड्काले आइतबारमात्रै बजेटमा टाइप मिस्टेक भएर जलविद्युत आयोजनाको विजुली प्राधिकरणले टेक एण्ड पे खरिद सम्झौता गर्ने उल्लेख भएको तर बजेट पास हुँदा टेक अर पे मै हुने व्यवस्था हुने दाबी गर्नुभएको थियो । तर, सोमबार अर्थमन्त्री पौडेलले प्राधिकरणले टेक एण्ड पे मा नै विद्युत खरिद गर्ने स्पष्ट पार्नुभएको हो ।
राजस्व र व्ययको वाषिर्क अनुमानमाथि प्रतिनिधि सभामा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटले लिएको राजस्व तथा अनुदान र ऋणको अनुमान यथार्थपरक रहेको दाबी गर्नुभयो । सांसद्हरुले आम्दानीको लक्ष्य महत्वाकांक्षी रहेको आरोप लगाइरहेका बेला अर्थमन्त्री पौडेलले यथार्थपरेक रहेको बताउनुभएको हो ।
राजस्व वृद्धिको लक्ष्य १७ प्रतिशत मात्र राखिएको भन्दै पूरा हुने दाबी गर्नुभयो । विगतका वर्षमा ४१ प्रतिशतसम्म राजस्व वृद्धिको लक्ष्य राख्ने गरिएको उहाँको भनाइ थियो । मन्त्री पौडेलले ३ करोडभन्दा मुनिका योजना संघीय सरकारले कार्यान्वयन नगर्ने र बजेटमा कुनै त्यस्ता योजना परेको भए सुधार गर्ने पनि बताउनुभयो । भुक्तानी दायित्व सिर्जना भएका, प्रदेश र स्थानीय तहको क्षेत्राधिकारमा नपर्ने र विपद्पछिको पुनर्निर्माणमा भने ३ करोड भन्दा कम रकम छुट्याउन मिल्ने भएकाले त्यस्ता कार्यक्रमलाई बजेट छुट्याइएको उहाँको भनाइ छ ।
अर्थमन्त्री पौडेलले सोमबार नै प्रतिनिधि सभामा विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८२ पनि पेश गर्नुभएको छ ।