महिला लिग छनोटका लागि १६ टोली दर्ता, प्रतियोगिता साउन २७ बाट

असार २, २०८२ |खेल ब्युरो
महिला लिग छनोटका लागि १६ टोली दर्ता, प्रतियोगिता साउन २७ बाट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने एन्फा महिला लिग छनोट आउँदो साउन २७ गतेबाट सुरु हुने भएको छ । प्रतियोगितामा सहभागी हुन देशभरका १६ टिमले आधिकारिक रूपमा नाम दर्ता गराएको एन्फाले जानकारी दिएको छ । 

यो वर्ष शहीद स्मारक ‘ए’ डिभिजनमा सहभागी तीन क्लबले दर्ता गराएका छन् । यसअघिको लिगमा पनि सहभागी बनेको संकटा क्लब साथै एनआरटी र चर्चा बोइजले पनि महिला लिगको टोली दर्ता गराएका हुन् । 

एन्फाले सोमबार सार्वजनिक गरेको जानकारी अनुसार प्रतियोगितामा सहभागी हुने बाँकी टिमहरूमा बुटवल लुम्बिनी एफसी, छहारी युवा क्लब, चित्लाङ एफसी, एफसी रियाल, झापा एफसी, कन्काई खेलकुद प्रतिष्ठान, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर, नेपाल बेस्ट म्यानेजमेन्ट, नेपाल खेलकुद क्लब, आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब, सिन्धुपाल्चोक एफसी र स्टुडेन्ट एफसी रहेका छन् । 

महिला फुटबलको विकास र अवसर विस्तार गर्ने उद्देश्यले आयोजना गरिने उक्त छनोट प्रतियोगिता महिला लिगमा स्थान सुनिश्चित गर्न महत्त्वपूर्ण हुनेछ । छनोट चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने दुई टोलीले आगामी एन्फा महिला लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । गत संस्करणमा कमजोर प्रदर्शन गरेका दुई टिम रेलिगेट भएका छन् । एन्फाले प्रतियोगितालाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन आवश्यक सम्पूर्ण तयारी थालिसकेको जनाएको छ ।