काठमाडौं । भलिबल राष्ट्रिय खेल घोषणा भएको करिब नौ वर्ष बितिसक्दा पनि भलिबल संघले आफ्नै पूर्वाधार बनाउन जग्गा प्राप्त गर्नै सकेको छैन । त्यसमाथि प्रतियोगिता आयोजना गर्नुपरे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलकै भर पर्नुपर्ने अवस्था । यो वर्ष त राखेपको कभर्डहल पनि नपाएपछि संघले एनभीए महिला तथा पुरुष भलिबल लिग पहिलो पटक मोफसलमा आयोजना गर्यो । काठमाडौंबाहिर विस्तार भएको प्रतियोगिता आयोजनाका लागि के कस्ता तयारी गरिए र के कस्ता सुधार आवश्यक देखिए त ?
नेपालको राष्ट्रिय खेल घोषणा भएको ९ वर्ष बितिसक्दा पनि भलिबलको पूर्वाधार निर्माणका लागि नेपाल भलिबल संघले जग्गा प्राप्त गर्नै सकेको छैन । परिणामस्वरूप, भलिबल संघले हरेक वर्ष काठमाडौंस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना गर्दै आएको एनभीए महिला तथा पुरुष लिग भलिबल प्रतियोगिता यसपालि पोखरामा सम्पन्न गर्यो । ठूलो आर्थिक भारकै बावजुद गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला भलिबल संघ तथा टाइगर ग्रुप पोखराको सहयोगमा प्रतियोगिता जेठ ८ देखि १५ गतेसम्म पोखरामा सम्पन्न गरियो ।
राखेपको कभर्डहल पुनःनिर्माणको क्रममा रहेकाले भवितव्यले काठमाडौं बाहिर विस्तार भएको प्रतियोगिता अब सातै प्रदेशमा आयोजना गर्ने संघको योजना छ ।
राखेपका तत्कालीन सदस्य सचिव केशवकुमार विष्टको कार्यकालमा २०६८ सालमा पोखरा रंगशाला परिसरभित्र वहुउद्देश्यीय कभर्डहल निर्माण गरियो । १३ औं दक्षिण एसियाली खेलकुदको ह्यान्डबल प्रतियोगिता यही कभर्डहलमा सम्पन्न भएको थियो । तर कम्जोर लाइटका कारण भलिबल प्रतियोगिता भने आयोजना हुन सकिरहेको थिएन । यसपालि एनभीए प्रतियोगिताकै लागि गण्डकी प्रदेश खेलकुद परिषद्को सहयोगमा मर्मतसम्भार गरी उपयुक्त लाइट जडान गरियो । अब प्रदेश सरकारले यस कभर्डहललाई थप व्यवस्थित बनाउन बजेट नै विनियोजन गर्नुपर्ने खेलकुद पदाधिकारीको माग छ ।
गण्डकी प्रदेशमा भलिबलको फ्यानबेस अत्यधिक छ । पोखरामा हुने हरेक खेलमा दर्शक भरिभराउ हुन्छन् । यस पटक एनभीए लिगका दौरान कभर्डहलमा भेन्टिलेटर र एसी नहुँदा दर्शकले निकै सास्ती बेहोर्नुपरेको थियो। तर विदेशी खेलाडी समलित टिमको खेल घरेलु कोर्टमै हेर्न पाउँदा दर्शक खुशी थिए ।
करिब साढे दुई हजार दर्शक क्षमताको यो वहुउद्देश्यीय कभर्डहल नेपालकै सम्भवत ठूलो हो । यसमा आवश्यक पूर्वाधार थपेर सुविधासम्पन्न बनाउन सके नेपालकै नमुना कभर्डहल बन्न सक्नेछ । जसले आगामी दिनमा भलिबल प्रतियोगिताको विकेन्द्रीकरणमा महत्त्वपूर्ण भूमिका निभाउन सक्नेछ ।