फिफा क्लब विश्वकप : आज राति तीन खेल हुँदै

असार १, २०८२ |खेल ब्युरो
फिफा क्लब विश्वकप : आज राति तीन खेल हुँदै

काठमाडौं । फिफा क्लब विश्वकपको आइतबार राति तीन खेल हुँदैछन्। बायर्नले राति पौने १० बजे पहिलो पटक अकल्यान्ड सिटीको सामना गर्दैछ।

समह सीअन्तर्गत यी दुवै टोली विश्वकपमा जितबाट सुरूआत गर्न चाहन्छन्। गत सिजन जर्मन च्याम्पियन र न्युजिल्यान्डको लिगमा तेस्रो भएको सेमी-प्रोफेसनल टिमबीचको भिडन्तमा बायर्न हाबी हुने देखिन्छ। तर, भिन्सेन्ट कोम्पनीको टोलीले नकआउट प्रतियोगितामा खास प्रदर्शन गर्न सकेको छैन्। 

बलियो स्क्वाडका बाबजुद पनि बायर्न च्याम्पियन्स लिगमा इन्टर मिलान र जर्मन कपमा बायर लेभरकुसनसँग पराजित भएको थियो। कोम्पनीलाई यो प्रतियोगिताबाट आफ्नो नकआउट प्रदर्शनका सुधार ल्याउने अवसर छ। लिगमा बायर्न पछिल्ला सात खेलयता अपरातिज रहेकाले उसको फर्म राम्रो देखिन्छ।

अकल्यान्ड पनि लगातार चौथो पटक ओसिनिया च्याम्पियन्स लिग जितेर विश्वकपमा पुगेको हो। तर घरेलु रंगशालाको क्षमता नै साढे तीन हजार मात्र भएको ओसिनिया क्लबले आज २६ हजार दर्शक क्षमता भएको ओहायो रंगशालामा खेल्नेछ।

आज राति पौने एक बजे पीएसजीले एट्लेटिको मड्रिडको सामना गर्नेछ। यसैगरी, यो खेल समूहको प्रतिस्पर्धात्मक खेलमध्येको एक हो। जहाँ युरोपेली पावरहाउस आमने सामने हुनेछन्। 

इतिहासमा नै पहिलो पटक च्याम्पियन्स लिग जितेर विश्वकपमा प्रवेश पाएको पीएसजी रोज बल रंगशालामा विजयी सुरूआत गर्ने योजनामा छ। समूह बीमा यी दुई टिम समूह विजेता बन्न सुरूआतबाटै प्रतिस्पर्धा गर्ने भएका छन्। 

उपाधिकोसमेत दावेदार रहेको कारण यी दुईबीचको खेल प्रतिस्पर्धात्मक बन्नेछ। पीएसजीका फरवार्ड ओउसमान डेम्बेलेले क्लब विश्वकपको उपाधि जित्न चाहेको बताएका छन्।

यसैगरी बिहान पौने ४ बजे हुने खेलमा ब्राजिलको पाल्मेरिसले पोर्चुगलको एफसी पोर्टोको सामना गर्नेछ। यी दुवै टिम समूह 'ए' को विजेताको प्रवेल दावेदार समेत हुन्।