‘वाम एकता भइहाले विद्या भण्डारीको नेतृत्व स्विकार्न अप्ठ्यारो छैन’

असार २, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘वाम एकता भइहाले विद्या भण्डारीको नेतृत्व स्विकार्न अप्ठ्यारो छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वाम एकता सम्भव नरहेको बताउनुभएको छ । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै नेता पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिका कारण पनि नेकपा एमालेसँग एकता वा गठबन्धनको सम्भावना नरहेको बताउनुभयो ।

‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनबाट फर्किएपछि एमाले नेताहरूसँग छलफल अघि बढेको हो ?’ भन्ने फायरसाइडको प्रश्नमा नेता पुनले एमाले नेताहरूसँग हालसम्म छलफल नै नभएको र एकता बहस नै असान्दर्भिक रहेको बताउनुभयो ।

यद्यपि, पूर्वराष्ट्रपति भण्डारीको नेतृत्व स्विकार्न कुनै अप्ठ्यारो नरहेको उहाँको भनाइ थियो । ‘हाइपोथेटिकल्ली’ वाम एकता भई भण्डारी नेतृत्वमा आएको खण्डमा उहाँलाई स्विकार्न सकिने पुनले बताउनुभएको हो ।

भण्डारीको नेतृत्व स्विकार्न अप्ठ्यारो त हुँदैन भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “अप्ठ्यारो किन मान्ने त नि । तर लोकतान्त्रिक पार्टीमा आएर म नेता भइदिन्छु भनेर त हुँदैन नि । प्रतिस्पर्धा हुन्छ, कार्यकर्ताले रुचाउनुपर्‍यो ।”

अर्को प्रसंगमा उहाँले जनार्दन शर्मालाई अध्यक्षले पार्टी छोड्न नभनेको प्रस्ट पार्नुभयो । सरकारले एक महिनाभित्र विज्ञ सम्मिलित समिति बनाउने र भिजिट भिसा प्रकरणको छानबिन गर्ने पनि विश्वास व्यक्त गर्नुभयो । सरकारले यसबारे प्रतिबद्धता जनाउने सहमतिअनुसार गृहमन्त्री लेखकले आइतबार संसद्‌बाट त्यसको जानकारी गराउनुभएको पुनको भनाइ छ । रास्वपाले अब संसदीय मर्यादा अनुरूप अघि बढ्दै सरकारलाई खबरदारी गर्नुपर्ने र सहमति कार्यान्वयनका लागि दबाब दिनुपर्ने उहाँको सुझाव थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.