रित्तो कुर्सी र वेलमा नाराबाजी, तैपनि चलिरह्यो संसद् बैठक

असार २, २०८२ |कान्तिपुर टीभी संवाददाता
रित्तो कुर्सी र वेलमा नाराबाजी, तैपनि चलिरह्यो संसद् बैठक

काठमाडौं । अधिकांश कुर्सी खाली थिए, विपक्षी दल कोही वेलमा नाराबाजी गरिरहेका थिए, कसैले चर्को आलोचना गरिरहे । तर ती विरोध र अवरोधकै बीच आज पनि प्रतिनिधि सभा बैठक दिनभर चलिरह्यो ।

सभामुख देवराज घिमिरेले बैठक चलाइरहँदा आज पनि विपक्षी रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै बल प्रयोग गरेर सदन नचलाउन आग्रह गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षीको विरोध चलिरहँदा जबर्जस्ती सदन नचलाउन माग गरेको थियो । तर त्यसको सुनुवाइ भएन ।

बजेटमाथि छलफलमा भाग लिए पनि एकीकृत समाजवादीका सांसदले समेत संसदीय अभ्यासमा गलत परम्परा बसेको दाबी गरे ।

विरोधकै बीच प्रतिनिधि सभा बैठकलाई निरन्तरता दिएपछि रास्वपाका सांसदहरूले नाराबाजीसहित वेल घेरे । विपक्षी दलका सांसद बोल्दा चुप लाग्ने र सत्तापक्षका सांसद बोल्दा चर्को नारा लगाएका रास्वपाका सांसदहरूले पलेंटी कसेर बसिरहँदा कसैले योग गरे जस्तो देखिन्थ्यो भने कसैले नियमावली पढ्दै गरेका थिए । 

संसद्‌मा कमै देखिने त्यो दृश्यलाई एमाले सांसद सूर्य थापाले नियमापत्तिसहित हामी रत्नपार्कमा छौं कि, पोखराको चिप्लेढुंगामा भन्दै व्यङ्ग गर्नुभएको थियो ।

रास्वपाले भिजिट भिसा प्रकरणमा भएको भ्रष्टाचारसम्बन्धी छानबिन गर्न संसदीय समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको छ । विपक्षीको विरोधकै बीच बजेटमाथिको छलफल चलाइए पनि प्रतिनिधि सभाका आधाभन्दा बढी कुर्सी खाली थिए । सत्तापक्षकै सांसदहरूको उपस्थिति न्यून थियो । राप्रपाका सांसदहरूले भने आफ्नो मागको सुनुवाइ नभएको भन्दै बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.