पूर्वउपराष्ट्रपति पुनका छोराहरू जितेन्द्र र दीपेश मुछिएको सुन तस्करीको अनुसन्धान डेढ वर्षदेखि गुपचुप

ठूला अपराधका अधिकांश अनुसन्धानमा राजनीतिक दबाब थेग्न नसक्दा प्रहरी निरीह
असार २, २०८२ |रमेश धमला
पूर्वउपराष्ट्रपति पुनका छोराहरू जितेन्द्र र दीपेश मुछिएको सुन तस्करीको अनुसन्धान डेढ वर्षदेखि गुपचुप

काठमाडौं । प्रहरीले राजनीतिक दबाबमा परेर संवेदनशील र महत्त्वपूर्ण आपराधिक घटनाका आरोपीमाथि अनुसन्धान अघि नबढाउने गरेको आरोप लाग्दै आएको छ । त्यसरी नै दबाइएको एउटा अनुसन्धान हो पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराहरू मुछिएको सुन तस्करी काण्ड । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको ६० किलो सुन तस्करीका मुख्य चिनियाँ आरोपीसँग नन्दबहादुरका छोरा दीपेश पुनको सम्बन्ध देखिएको थियो भने नन्दबहादुरकै अर्का छोरा जितेन्द्र पुनले ४ किलो सुन कारोबार गर्न चिनियाँसँग तमसुक गरेको तथ्य सार्वजनिक भएको थियो । तर प्रहरीले अनुसन्धान दबाएर राखेको छ ।

नेपाल प्रहरीले करिब डेढ वर्षयता राजनीतिक दबाबका कारण सुन तस्करी काण्डको संवेदनशील घटना अनुसन्धान नगरी दबाएर राखेको छ । ६० किलो सुन तस्करीको अनुसन्धान गरेर चिनियाँ समूहको गिरोह पत्ता लगाएको प्रहरीले डेढ वर्षअघि नै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा मुछिएको घटना भने दबाएर राखेको हो । 

पूर्वपराष्ट्रपति पुनका छोरा जितेन्द्र पुनले २०७६ असोज १९ गते सुन खरिदका लागि चिनियाँ समूहसँग तमसुकमा हस्ताक्षर नै गरेका छन् जसको भिडियो नै बनाइएको छ । ६ पृष्ठको सम्झौता पत्रमा पुनले उधारोमा सुन खरिद गरेको उल्लेख छ । एक वर्षभित्र भुक्तान गर्ने गरी सांघाई स्टक एक्सचेन्जको मूल्य अनुसार प्रतिग्राम ३८५ चिनियाँ मूल्यमा ४ किलो सुन खरिद गरिएको छ ।

यो घटना सीआईबीको सूचनामा पुगेको डेढ वर्ष भइसकेको छ । तर सीआईबीले कुनै अनुसन्धान नै बढाएको छैन । तत्कालीन अवस्थामा चासो राखे पनि बढुवा र सरुवाको लोभमा परेर प्रहरी अधिकृतहरूले पूर्वउपराष्ट्रपतिको छोरामाथिको अनुसन्धान रोकेको प्रहरी स्रोतकै दाबी छ ।

प्रत्येक दिन ०.३ प्रतिशतका दरले ब्याजसहित २०२० अक्टोबर २ सम्म तिरिसक्नु पर्ने गरी सन २०१९ अक्टोबार ६ मा सम्झौता भएको कागजात र भिडिओमा छ । त्यति मात्रै होइन सुन लिन जान जितेन्द्र पुनले हुम्लाको हिल्सा नाकाबाट चीन आवतजावतका लागि हुम्लावासीकै हैसियतमा पास समेत बनाएको खुलेको छ । जितेन्द्र पुनले त्यसरी चार पटकसम्म सुन ल्याएको दाबी गरिएको छ । 

तर चिनियाँ समूहले त्यति ठूलो सञ्जाल नै तयार पारेर सुन तस्करी गरेको घटनामा प्रहरीले अनुसन्धान नै गर्न नचाहेपछि उनीहरूले उन्मुक्ति पाइरहेका छन् । सीआईबीका कतिपय अधिकृतहरू जितेन्द्र पुनमाथि अनुसन्धान नगर्न दबाब भएपछि फाइल नै तयार नगरिएको दाबी गर्छन् । सुरुआतमा घटना सार्वजनिक भएपछि हिल्ला नाकामा जितेन्द्रको आवतजावतको विवरण खोजी भएको थियो । तर तथ्य नभेटिएको भन्दै रोकिँदै आएको छ ।

सीआईबीले नै गरेको ६० किलो सुन तस्करी प्रकरणमै जोडिएका नन्दबहादुर पुनका अर्का छोरा छोरा दिपेश पुनको अनुसन्धान पनि दबाइएको छ । ६० किलो सुनमा मुख्य आरोपीमध्येका एक चिनियाँ मुलका दावाछिरिङसँग सिधा सम्बन्ध देखिएका पुनमाथि गम्भीर अनुसन्धान गर्न प्रहरी हच्किएको हो । दीपेशले सम्बन्ध बनाइदिएकै कारण दावाले रोल्पाकी अमला रोकासँग विवाह गरेका थिए । अमला रोका अहिले पनि फरार छिन् भने दाबाविरुद्ध मुद्दा छ । 

तत्कालीन अवस्थामा सीआईबीले दीपेशसँग सोधपुछ गरेर छाडे पनि त्यसपछि भने अनुसन्धान नै हुन सकेन । सीआईबीमा तीन जना प्रमुख फेरिइसकेका छन् भने प्रहरी प्रमुख पनि दुई जना भइसकेका छन् । तैपनि नेपालमा अन्तर्राष्ट्रिय सुन तस्करीमा साथ दिने राजनीतिक उच्च तहसम्म पुग्न सक्ने अनुसन्धाबाट प्रहरीले हात झिकेको छ । 

त्रिभुवन विमानस्थलबाट भेपमा पास भएको ९ किलो सुन काण्डका चिनियाँ समूहसँग सम्पर्क देखिएका पूर्वसभामुख कृष्णबहादुर महराको छोरा राहुल भने सजायको दायरामा आए । सीआईबीले एक वर्षअघि दोस्रो चरणको अनुसन्धान गरेर सुनको पैसा कारोबार गरेको भन्दै दुई वालेट कम्पनीविरुद्ध मुद्दा चलाएको थियो । तैपनि यसको अन्तिम टुंगो लागिसकेको छैन । 

कांग्रेस-एमालेको सरकार बने यता प्रहरीले कुनै पनि ठूला घटनामाथि अनुसन्धान गर्न चाहिरहेको छैन । आपराधिक घटनाको स्वत: गर्नुपर्ने अनुसन्धान पनि नेताको आदेश कुरेर बस्ने गरेका कारण अधिकांश राजनीतिक नेतृत्व जोडिएका संगठित र गम्भीर अपराधका घटना पनि दबाएर राखेको आरोप प्रहरीमाथि लाग्दै आएको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।