के हो इजरायल-इरान द्वन्द्वको इतिहास ?

असार १, २०८२ |हरहरि उपाध्याय
के हो इजरायल-इरान द्वन्द्वको इतिहास ?

काठमाडौं । इजरायलले यही शुक्रबार बिहानै इरानमाथि भीषण हवाई आक्रमण गरी सेना र रिभोलुशनरी गार्ड्सका प्रमुखका साथै उच्च पदस्थ सैन्य अधिकारी र परमाणु वैज्ञानिकहरूको ज्यान लिएपछि दुवै देशबीच जारी द्वन्द्वले उग्र रूप लिएको छ । प्रतिकारमा इरानले पनि इजरायलमाथि बलिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ भने इजरायलले आक्रमणलाई निरन्तरता दिएको छ । 

तेस्रो दिन पनि दुवै देशले एक अर्कामाथि आक्रमणको क्रम जारी राखेका छन् भने यो तत्कालै रोकिने कुनै लक्षण देखिएको छैन ।

इजरायल र इरानबीचको द्वन्द्व एउटा जटिल र भूराजनीतिक शत्रुतामा आधारित छ । यसका जराहरू पहिल्याउन इतिहासका पाना पल्टाउनुपर्ने हुन्छ । विशेषगरी इरानको परमाणु कार्यक्रमको वरिपरि यो द्वन्द्व केन्द्रित देखिन्छ ।

सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिले अमेरिका समर्थित तत्कालिन राजा मोहम्मद रेजा शाह पहलवीलाई सत्ताच्युत गरेर इस्लामिक गणतन्त्रको स्थापना गरे यता अमेरिकाका साथै इजरायलसँगको यसको सम्बन्धमा बिग्रिएको हो ।

त्यस यता इरानले इजरायल विरोधी लडाकु समूहलाई समर्थन गर्दै आएको छ भने सन् २००२ मा इरानले गोप्य रूपमा परमाणु कार्यक्रम सञ्चालन गर्दै आएको कुराको खुलासा भएपछि इजरायलका साथै पश्चिमा देशहरू ऊप्रति सशंकित रहँदै आएका छन् ।

इरानले परमाणु हतियार निर्माणमा सफलता प्राप्त गरेको अवस्थामा मध्यपूर्व र सम्पूर्ण विश्वकै लागि ऊ एक खतरा हुन सक्ने विश्लेषण इजरायलका साथै अमेरिका लगायतका पश्चिमा देशको छ । इरान र पश्चिमा राष्ट्रहरूबीच २०१५ मा भएको परमाणु सम्झौताबाट सन् २०१८ मा अमेरिका एकतर्फी रूपमा बाहिरिएपछि इरान परमाणु हतियार सम्पन्न राष्ट्र बन्न सक्ने सम्भावनाले इजरायल र पश्चिमा देशलाई त्रसित बनाउँदै आएको छ ।

एकातिर इरान र साउदी अरबबीच क्षेत्रीय शक्ति राष्ट्र बन्ने होडबाजी छ भने अर्कोतर्फ इरानले प्यालेस्टिनी लडाकु समूह हमास र लेबनानी लडाकु समूह हिजबुल्लाहका साथै यमनको विद्रोही समूह हुथीलाई पनि हतियार र आर्थिक सहयोग गर्दै आएको छ ।

इजरायलले हमास र हिजबुल्लाहलाई आफ्नो राष्ट्रिय सुरक्षामा प्रत्यक्ष खतराका रूपमा हेर्दै आएको छ भने इरानले उनीहरूलाई मलजल गर्दै आएको कुराले ऊ तेहरानप्रति रुष्ट रहँदै आएको छ ।

इजरायल हमास द्वन्द्व र इजरायल हिजबुल्लाह द्वन्द्व वास्तवमा इरान-इजरायल छद्म द्वन्द्व भएको र इजरायलप्रतिको अमेरिकी समर्थनले यसलाई थप जटिल बनाएको विश्लेषकहरू बताउँछन् ।

खासगरी २०२३ को अक्टोबर ७ मा इरान समर्थित प्यालेस्टिनी लडाकु समूह हमासले दक्षिणी इजरायलमा अचानक आक्रमण गरी करिब १२ सयको ज्यान लिनुका साथै २५० भन्दा बढीलाई बन्धक बनाएर लगेपछि इजरायल इरानप्रति थप आक्रोशित बनेको हो ।

त्यस यता गाजामा भीषण सैन्य कारबाही गर्दै आएको इजरायलले हमासका साथै लेबनानमा पनि आक्रमण गरी हिजबुल्लाहका शीर्ष नेताहरूको हत्या गरिसकेको छ । इजरायलले इरान भ्रमणमा रहेका बेला नै हमास प्रमुख इस्माइल हनियालाई २०२४ को जुलाई ३१ मा तेहरानमा आक्रमण गरी हत्या गरेको थियो ।

डनल्ड ट्रम्प सत्तामा आएपछि इरान र अमेरिकाबीच उसको परमाणु कार्यक्रमका सम्बन्धमा थुप्रै चरणमा वार्ता भए पनि सहमति हुन सकेको छैन । आइतबार अर्को चरणको वार्ताका लागि तयारी हुँदै गर्दा शुक्रबार इजरायलले इरानमाथि एकाएक भीषण आक्रमण गरेको हो ।

अमेरिकाले यो ताजा आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएको छ । इजरायलले भने आक्रमणबारे वासिङ्टनलाई पूर्व जानकारी गराएको बताएको छ ।

इजरायलले इरानमाथि आक्रमण गर्नु दुई दिनअघि अमेरिकाले इराकस्थित दूतावासमा रहेका अत्यावश्यक बाहेकका कूटनीतिक कर्मचारीका साथै मध्यपूर्वमा रहेका सेनाका परिवारलाई फिर्ता बोलाउने निर्णय गरेको विषयले पनि आक्रमणबारे पूर्वजानकारीतर्फ संकेत गर्दछ ।

कतिपय विश्लेषकहरूले अमेरिकासँगको परमाणु वार्तामा इरान लचिलो नभएपछि वासिङ्टनको इसारामा इजरायलले इरानमाथि आक्रमण गरेको र अमेरिकी शर्त मान्न तयार भएको अवस्थामा आक्रमणको सिलसिला पनि रोकिने विश्लेषण गरेका छन् ।

तर यी सबै विश्लेषणका बीच इजरायलले यस पटकको आक्रमणलाई इरानको सत्ता पल्टाउने तहमा पुर्‍याउने अड्कलबाजीहरू पनि इरान र इजरायलबीचको द्वन्द्वका जानकारहरूले गरिरहेका छन् ।

- एजेन्सीहरूको सहयोगमा


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।