काठमाडौं । प्रचण्ड कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । एपीएफले आज पोखरा रंगशालाको कभर्ड हलमा भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
पोखरामा नै भएको प्रधानमन्त्री कपमा खराब प्रदर्शन गरेको एपीएफले यो प्रतियोगितामार्फत पुनरागमन गरेको छ । च्याम्पियन बन्ने क्रममा उसले प्रधानमन्त्री कपको विजेता पुलिस र उपविजेता न्यु डायमन्ड स्पोर्टस क्लबलाई हराएको हो ।
एपीएफ न्यु डायमन्डलाई पराजित गर्दै फाइनल पुगेको थियो । फाइनलमा एपीएफले पुलिसमाथि सोझो सेटको जित हात पार्यो । उसले पुलिसलाई सुरुआती सेटबाट नै दबाबमा राख्यो । पहिलो सेट एपीएफले २५-१९ ले जितेको थियो । दोस्रो सेटमा पनि पुलिस खेलमा फर्किन सकेन ।
एपीएफले यो सेट २५-२० ले जितेको थियो । तेस्रो सेट भने सहजै २५-१३ ले आफ्नो पक्षमा पार्दै एपीएफ च्याम्पियन बनेको हो । न्यु डायमन्ड तेस्रो भयो । उसले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको हो । विजेता एपीएफले ६ लाख र पुलिसले तीन लाख पुरस्कार प्राप्त गरे । न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर घोषित भइन् ।
न्यु डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो बनेकी छिन् । पुलिसकी उषा भन्डारीले उत्कृष्ट स्पाइकरको अवार्ड जितिन् । एपीएफकी सृष्टि खड्की उत्कृष्ट सर्भर बन्दा मोस्ट भ्यालुएबल प्लेयरको अवार्ड भने एपीएफकी निरुता ठगुन्नाको नाममा रह्यो ।