काठमाडौं । इरानले गएराति मध्य र उत्तरी इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २ सय जना घाइते भएको स्थानीय समाचारमाध्यमले जनाएका छन् ।
भूमध्यसागरको तटमा अवस्थित इजरायली शहर बेत यामको एउटा भवनमा खसेको क्षेप्यास्त्रका कारण ६ जनाले ज्यान गुमाएको र २ सय जना घाइते भएको जनाइएको छ । यस्तै उत्तरी शहर तमारामा क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा ४ जनाको मृत्यु भएको छ । इरानले गए राति दुई चरणमा गरी करीब ८० वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
उता इजरायलले पनि गए राति नै इरानी रक्षा मन्त्रालयको मुख्यालय र एउटा इन्धन वितरण केन्द्रमा आक्रमण गरेको थियो । आक्रमणबाट के कति हताहती भयो भन्ने इरानले खुलाएको छैन । यद्यपि इरानको तेल मन्त्रालयले तेहरानस्थित शहरान आयल डिपोमा इजरायलले क्षेप्यास्त्र आक्रमण गरेको पुष्टि भने गरेको छ ।
यसैबीच इरानी विदेशमन्त्री अब्बास अरागाचीले इजरायलले सैन्य कारबाही अन्त्य गरे मात्र ऊविरूद्धको आक्रमण रोकिने बताउनुभएको छ । साथै उहाँले इरानप्रतिको सद्भाव सिद्ध गर्नका लागि अमेरिकाले उक्त आक्रमणको भर्त्सना गर्नुपर्ने माग समेत गर्नुभएको छ ।
अमेरिकाको अनुमति र समर्थनबिना इजरायलले इरानमा आक्रमण गर्न नसक्ने भन्दै उहाँले इजरायली आक्रमणमा आफ्नो संलग्नता नरहेको भन्ने वासिङ्टनको भनाइमा विश्वास गर्न नसकिने बताउनुभएको छ । साथै उहाँले इरान र अमेरिकाबीच जारी परमाणु वार्ता भाँड्न खोजिएको आरोप पनि लगाउनुभएको छ ।
यसैबीच इरान र अमेरिकाबीच आइतबार हुने भनिएको परमाणु वार्ता हालका लागि रद्द गरिएको मध्यस्थकर्ता देश ओमानले जनाएको छ ।
उता अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भने इजरालले इरानमाथि गरेको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नभएको स्पष्टीकरण दिनुभएको छ । उहाँले इजरायल र इरानबीच सजिलै सम्झौता गराउन सकिने दाबी पनि गर्नुभएको छ । यद्यपि, इरानले मध्यपूर्वस्थित अमेरिकी सैन्य ठेगानाहरूमा आक्रमण गरे पूर्ण बल र शक्तिका साथ प्रतिआक्रमण गर्ने चेतावनी समेत उहाँले दिनुभएको छ ।
उता इरानी राष्ट्रपति मसूद पेजेश्कियनले इजरायलले आक्रमण बन्द नगरे थप कडा जवाफ दिइने बताउनुभएको छ । यसबीच इजरायली सेनाले तेहरानस्थित हतियार उत्पादन केन्द्र र सम्बन्धित उपकेन्द्र नजिकै बस्ने इरानीहरूलाई सुरक्षित स्थानतर्फ जान चेतावनी पनि जारी गरेको छ । यसैबीच चिनियाँ विदेशमन्त्री वाङ्ग यीले इजरायलले इरानमाथि गरेको आक्रमणको भर्त्सना गर्नुभएको छ ।