काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो मागदाबीसहित रास्वपा सभापति रवि लामिछानेविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । लामिछानेविरूद्ध सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र दायर भएको हो ।
यसबाहेक लामिछानेमाथि संगठित अपराध निवारण ऐन २०७० बमोजिम थप सजायसमेत माग गरिएको छ । वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर करिब १ महिनाअघि पर्सा प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । त्यसैकै आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेसहित २९ जनाउपर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
सोही मुद्दामा छविलाल जोशीसँग ७ करोड २० लाख बिगो, सहकारी ऐनअनुसार बिगोबमोजिम सजाय र जरिवाना तथा संगठित अपराध नियन्त्रण ऐनअनुसार थप सजायसमेत माग गरिएको छ।
वीरगञ्ज-६ आदर्शनगरमा कार्यालय रहेको सानो पाइला सहकारीले स्थानीय ५ हजार ८ सय ७३ बचतकर्ताको कूल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रूपैयाँ अपचलन गरेको प्रहरीले यकिन गरेको थियो ।
विशाल सहनी गोढीसमेत २ सय ७ बचतकर्ताले ४ करोड ५८ लाख १४ हजार ४ सय २१ रूपैयाँ अपचलन भएको दाबीसहित २०८० भदौ २२ गते जाहेरी दिएका थिए । त्यस्तै २०८१ फागुन २ मा मनिषकुमार सिस्कासमेत १ सय ७९ बचतकर्ताले आफूहरूको २४ करोड ५८ लाख ३१ हजार ९ सय २८ रूपैयाँ अपचलन भएको दाबीसहित जाहेरी दिएका थिए ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा लामिछाने पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । सो मुद्दामा मा उच्च अदालत, तुलसीपुर बुटवल इजलासले लामिछानेलाई २०८१ चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालत रूपन्देहीले १३ माघ ०८१ मा एक करोड रूपैयाँ धरौटीमा छाड्न गरेको आदेश उच्चले बदर गरेको हो ।