टीबी साह मेमोरियल कपको उपाधि मधेश प्रदेशलाई

जेष्ठ ३१, २०८२ |खेल ब्युरो
टीबी साह मेमोरियल कपको उपाधि मधेश प्रदेशलाई

काठमाडौं । टीबी साह मेमोरियल कप अन्डर सिक्सटिन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । आज भएको फाइनलमा मधेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

सुर्खेतस्थित कालुन चोक मैदानमा मधेशले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । बागमतीले ३३ ओभरमा अलआउट हुँदै ११२ रन मात्र बनाउन सक्यो । सुर्यान्सू कोइरालाले १०, प्रसिद्ध जैसीले २५, आशिष गुप्ताले १७ र रोहित ठाकुरले २२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । 

जोय थापा ६, शिवशक्ति महतो २ र अभि थपलिया ४ रनमा आउट भएका थिए । राजेश बोहरा एक रनमा मैदान बाहिरिँदा सुशील साउद र आशिक अधिकारीले खाता खोल्न सकेनन् । बागमतीले २१ रन अतिरिक्त पाएको थियो । 

रोहन यादवले तीन, राजीवकुमार सदा र सल्मान अली मन्सुरीले दुई-दुई विकेट लिए । जवाफमा मधेशले १३ ओभर चार बलमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । सुशान्त सिंह १२, परिमर्जन यादव ४ तथा माही यादव चार रनमै आउट भएका थिए । तर आयान मुखिया र सान्तु मन्डलले मधेशलाई च्याम्पियन बनाए । आयान २९ र सान्तु ४३ रनमा अविजित रहे । 

प्रसिद्धले दुई र कमल शाहीले एक विकेट लिएका थिए । मधेश प्रदेशका अभय यादव उत्कृष्ट बलर चुनिए । उनले प्रतियोगितामा ४१ ओभर एक बलमा १६३ रन दिएर १९ विकेट लिएका थिए । थिए प्लेयर अफ द सिरिज लुम्बिनी प्रदेशका रौनक श्रीवास्तव घोषित भएका छन् । रौनले दोहोरो शतकसहित ६ खेलको पाँच इनिङसमा ३३२ रन प्रहार गरेका थिए ।