काठमाडौं । फिफा क्लब विश्वकपको समूह 'एफ' मा ब्राजिलियन प्लेयर, युरोपेली हेभिवेट टोली र दुई कम परिचित टोली छन् । बोरूसिया डर्टमन्ड यो समूहको सबैभन्दा बलियो टोलीका रूपमा देखिएको छ । कम्तिमा समूहको अन्तिम १६ मा पुग्ने उसको विश्वास छ । यस समूहमा फ्लुमिनेन्स, उलसान, र मामेलोडी सुन्डाउन्स पनि छन् ।
फिफा क्लब विश्वकपमा जर्मन टोली बोरूसिया डर्टमन्ड समूह 'एफ'मा रवाफिलो प्रदर्शनको लक्ष्यमा छ । डर्टमन्डले २०२४ को यूईएफा च्याम्पियन्स लिगको फाइनलसम्म पुगेर विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
डर्टमन्डले पछिल्ला छ खेल लगातार जित्दै आएको छ र सबै खेलमा तीन वा त्योभन्दा बढी गोल गरेको छ । टोलीमा स्ट्राइकर सेर्हो गिरेसी र अमेरिकी मिडफिल्डर जियो रेनाजस्ता मुख्य खेलाडीहरू छन्।
डर्टमन्डलाई चुनौती दिने अर्को टोली हो फ्लुमिनेन्से । सन् २०२३ को कोपा लिबर्टाडोरेस विजेता फ्लुमिनेन्सेले क्लब वर्ल्ड कपमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो ।
२०२३ मा म्यानचेस्टर सिटीसँग फाइनलमा पराजित भएको टोलीको नेतृत्व ४० वर्षे थिएगो सिल्भाले सम्हालेका छन् । उनी फ्लुमिनेन्सेका महत्वपूर्ण खेलाडी पनि हुन् । ब्राजिलियाली सिजन अहिले सुरू भएकाले फ्लुमिनेन्से टोली राम्रो अवस्थामा हुनेछ।
यस्तै, समूहमा एफमा रहेको मामेलोडी सन्डाउन्स दक्षिण अफ्रिकी लिगको च्याम्पियन हो । लगातार आठौं पटक प्रिमियरसिप जितेको टोलीले क्याफ च्याम्पियन्स लिगमा दोस्रो हुँदै क्लब वर्ल्ड कपमा स्थान सुरक्षित गरेको हो । टोलीमा प्रायः स्थानीय खेलाडी छन् । तर ब्राजिलियाली लुकास रिबेरो कोस्टाजस्ता केही विदेशी खेलाडीले टोलीमा ठूलो भूमिका खेलेका छन्।
यस्तै, दक्षिण कोरियाली टोली उलसान दुई पटकको एएफसी च्याम्पियन्स लिग विजेता हो र क्लब वर्ल्ड कपमा उसको यो तेस्रो सहभागिता हो । घरेलु फुटबलमा प्रभावशाली रहे पनि यो प्रतियोगितामा उलसानको प्रदर्शन राम्रो छैन। सहभागी भएका दुवै संस्करणमा टोली छैटौं स्थानमा पुगेको छ र सबै खेलमा हार बेहोरेको छ ।