नयाँ प्रशिक्षकको नेतृत्वमा क्लब विश्वकप खेल्न अमेरिका पुग्याे इन्टर मिलान

जेष्ठ ३१, २०८२ |खेल ब्युरो
नयाँ प्रशिक्षकको नेतृत्वमा क्लब विश्वकप खेल्न अमेरिका पुग्याे इन्टर मिलान

काठमाडौं । इटालियन क्लब इन्टर मिलान बुधबार नयाँ मुख्य प्रशिक्षक क्रिस्टियन चिभुको नेतृत्वमा क्लब विश्वकप खेल्न अमेरिका पुगेको छ।

पूर्व रोमानियाली डिफेन्डर चिभुलाई सोमबार दुई वर्षको सम्झौतामा इन्टरको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। सन् २००७ देखि २०१३ सम्म इन्टरका लागि खेलेका उनी जोसे मोरिन्होको नेतृत्वमा सन् २०१० मा ट्रेबल जित्ने टोलीका सदस्यसमेत थिए। 

चिभुले सिमोने इन्जागीको स्थान लिएका हुन् । जसले युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेनसँग ५-० को लज्जास्पद हारपछि प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका थिए। 

इन्टर मिलानले आफ्नो क्लब विश्वकप यात्रा मेक्सिकोको मोन्टेरेसँग खेलेर आगामी मंगलबार रोज बाउल स्टेडियममा सुरू गर्नेछ। त्यसपछि उनीहरू जुन २१ मा जापानी क्लब उरावा रेड डायमण्ड्स र जुन २५ मा अर्जेन्टिनी पावरहाउस रिभर प्लेटसँग खेल्ने छन्। 

३२ टोली सहभागी पहिलो संस्करणको क्लब विश्वकप औपचारिक रूपमा आइतबार सुरू हुँदैछ, जसमा इन्टर मियामी र इजिप्टको अल-अहलीबीच हार्ड रक स्टेडियममा उद्घाटन खेल हुनेछ।