जलजलामा जिप दुर्घटना : २० जनाकै पहिचान खुल्यो

वैशाख १८, २०८३ |मीनराज रोका
जलजलामा जिप दुर्घटना : २० जनाकै पहिचान खुल्यो

रूकुम पूर्व । रूकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा बिहीबार भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाकै पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनील थापा नेपालीका अनुसार मृत्यु हुनेमा रूकुम पूर्व सिस्ने गाउँपालिका-५ टाकुराका ३२ वर्षका गोरख विक, ५२ वर्षकी तिलकुमारी बुढाथोकी, २८ वर्षका युवा बीसी, १० वर्षका दिव्यन बीसी, २४ वर्षकी सृजना बुढाथोकी, १३ वर्षका सुदीप बुढाथोकी र ४० वर्षकी ओमकुमारी बुढाथोकी रहेका छन् ।

त्यसैगरी दाङको घोराही उपमहानगरपालिका-१५ की ५४ वर्षीया द्रुपती जीसी, ३२ वर्षीया तिला जीसी, ७ वर्षका जेनिस जीसी, १२ वर्षकी जेनिसा जीसी, २५ वर्षकी एलिना जीसी, ७ वर्षका संयोग जीसी र यमबहादुर जीसी र घोराही-१३ बस्ने धनमाया बिष्ट रहेका छन् । 

अरू मृतकहरूमा दाङको शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने-५ बस्ने सवारीचालक ४२ वर्षका वे‍दु कामी, सिस्ने-५ की वर्ष ६० की मीना कमिनी र ६० वर्षकी लाटी भन्ने लक्ष्मी शाह एवं रूकुम पूर्वकै भूमे गाउँपालिका-५ का टेकप्रसाद बस्नेत र सिस्ने-५ कै २७ वर्षकी रुपमिना बस्नेत रहेका छन् । 

घटनास्थल अप्ठ्यारो पहरोमा भएकाले शव संकलनमा ढिलाइ भएको प्रहरीले जनाएको छ । घटनास्थालमा पुगेका सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले मृतकको सूची जलजलातर्फ गएका परिवारसँग रुकुमपूर्व प्रहरीले गरेको सूचना संकलन र घटनास्थालमा खटिएका सुरक्षाकर्मीकोसँगको सूचना यकिन गरेर तयार पारिएको जिल्ला प्रहरी रोल्पाका सूचना अधिकारी नेपालीले बताउनुभयो । 

दुईजना घाइतेमध्ये १ जना निको भएर घर फर्किएका छन् । उनले आफू छतबाट हाम फालेर बाँच्न सफल भएको बताएका छन् ।


Image

मीनराज रोका

रोका कान्तिपुर टेलिभिजन रोल्पा संवाददाता हुन् ।