एजेन्सी- अमेरिकाको लस एन्जलसमा भइरहेको प्रदर्शनका कारण फिफा विश्वकप प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ ।
फिफा विश्वकपको एक वर्षे काउन्टडाउन सुरु भइसकेको छ । गएराति मायामीले आधिकारिक रुपमा विश्वकप आउन एक वर्ष बाँकी रहँदा काउन्टडाउन क्लकको प्रारम्भ गरेको हो । यो क्लकलाई मायामीको अन्तराष्ट्रिय विमास्थलमा राखिनेछ । जहाँ समर्थकले विश्वकप आउन कति दिन, कति मिनेट र कति सेकेन्ड बाँकी छ भनेर हेर्न सक्नेछन् । साथै उनीहरुले काउन्टडाउन क्लकसँग तस्विर पनि खिच्न सक्नेछन् । तर पछिल्लो समयको तनावका कारण कति अन्तर्राष्ट्रिय समर्थक अमेरिका जान्छन् भन्ने चिन्ता बढाएको छ ।
राष्ट्रपति डनल्ड ट्रम्पले लिएको आप्रवासी नीतिको विरोधले लस एन्जलस अशान्त छ । तर मायामीको स्थानीय आयोजक समितिको अध्यक्ष एलिना टि हुडाकले भने ढुक्क भएर विश्वकप हेर्न आउन समर्थकलाई आग्रह गरेकी छिन् । यस्तै मेक्सिकोले पनि मेक्सिको सिटीमा एक वर्षको काउन्टडाउन सुरु गरेको छ । मेक्सिकोले तेस्रो पटक विश्वकप आयोजना गर्दैछ । सन् २०२६ को फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दैछन् । ४८ टिम सहभागी पहिलो विश्वकपको उद्घाटन खेल मेक्सिको सिटीस्थित स्टाडियो एज्टेकामा हुनेछ । यो स्टेडियम तीन विश्वकपको उद्घाटन खेल सञ्चालन गर्ने पहिलो स्टेडियम हुनेछ । फाइनल खेल १९ जुलाइमा अमेरिकाको न्यु जर्सीस्थित मेट लाइफ स्टेडियममा हुनेछ ।