प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

जेष्ठ २९, २०८२ |खेल ब्युरो
प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बिहिबार भएको पहिलो खेलमा रामपुरमाथि सहज जित निकाल्दै विभागीय टोली एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

अब एपीएफले सेमिफाइनलमा पुल बी को विजेता न्यू डायमन्ड स्पोर्ट्स क्लबको सामना गर्नेछ। पोखरा रंगशालाको कभर्डहलमा आज एपीएफले प्रतियोगिताकै कमजोर रामपुरलाई सोझो सेटमा पराजित गरेको हो । 

खेलमा एपीएफले आफ्ना महत्वपूर्ण खेलाडीलाई रेस्ट दिएको थियो । स्पाइकर निरुता ठगुन्नाबाहेक बेन्चका खेलाडी खेलाए पनि एपीएफले विपक्षीलाई टिममा सेट हुन नदिइकनै खेल जितेको हो। एपीएफले पहिलो र दोस्रो सेट समान २५-६ ले आफ्नो बनाएको थियो । 

त्यसैगरी, तेस्रो सेटमा पनि २५-७ को फराकिलो जितसहित उसले सेमिफाइनल यात्रा पक्का गरेको हो। लगातार दोस्रो हार बेहोरेको रामपुर भने प्रतियोगिताबाट बाहिरियो । यता समूह ए मा न्यू डायमन्डले गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लबलाई समान ३-० को सोझो सेटमा पराजित गरेर हिजै सेमिफाइनलमा स्थान बनाएको थियो। 

आजको दोस्रो खेलमा गण्डकी प्रदेशलाई तीन-एकको सेटमा हराउँदै एभरेस्ट भलिबल क्लबले पनि सेमिफाइनलमा स्थान पक्का गरेको हो । अब एभरेस्टले सेमिफाइनलमा समूह ए को विजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ।

आजको खेलमा गण्डकीले पहिलो सेटमा २५-२१ को जित निकाले पनि बाँकी सेटमा एभरेष्ट हाबी भयो। त्यसपछि लगातार तीन सेट जितेर एभरेष्टले सेमिफाइनलमा स्थान बनाएको हो ।