बाणगङ्गा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाले भरिएको एक ऐतिहासिक नगर हो । त्रेतायुगदेखि आजसम्मको धार्मिक विरासत बोकेको यो नगर अहिले आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा अगाडि बढ्दैछ । त्यसका लागि नगरपालिकाको सक्रियता पनि बढेको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरभित्र पर्ने ऐतिहासिक स्थल लक्ष्मणघाट । त्यहाँ बाणगङ्गा र कोइली नदीको संगमस्थलमा त्रेतायुगमा लक्ष्मण स्नान गर्नुभएको थियो भन्ने धार्मिक विश्वास पाइन्छ । त्यहाँ रहेका शिव, हनुमान, दुर्गा, रामजानकी मन्दिर, १०८ शिवलिङ्ग र शिव मूर्ती प्रमुख आकर्षण हुन् ।
वडा नम्बर ७ को खारखानीमा रहेको राम दतिवन पनि ऐतिहासिक छ । भगवान रामले त्यहाँ आएपछि दाँत माझेको भन्ने मान्यताअनुसार यस ठाउँको नाम राम दतिवन रहन गएको हो । रामको पाइलाको आकृति भएको शीला र विभिन्न मन्दिरहरूले त्यहाँ धार्मिक आकर्षण थपेका छन् ।
वडा नम्बर २ मा अवस्थित कैलाश आश्रम, श्रृङ्गी ऋषिको जन्मस्थलका रूपमा चिनिन्छ । त्यहाँका मन्दिर, संस्कृत विद्यापीठ, गौशाला र पुस्तकालयले आश्रमलाई ज्ञान र साधनाको थलो बनाएका छन् ।
बाणगङ्गाको अर्को आध्यात्मिक गन्तव्य हो कपिलधाम । महर्षी कपिलको तपोभूमि मानिने यो ठाउँ दर्शन, योग र ध्यानका लागि विशेष मानिन्छ । त्यहाँ रहेका बौद्ध बिहार, शिवालय र साहित्य तीर्थहरू उल्लेखनीय छन् ।
बोडगाउँ नजिकैको मधुवन धाममा हरेक वर्ष हजारौं श्रद्धालु पुग्ने गर्छन् । त्यहाँ श्रृङ्गी ऋषिको स्मृति, शान्ता कुञ्ज, विपश्यना केन्द्र र बालु नीलकण्ठधामजस्ता स्थल रहेका छन् । नगरपालिकाले प्रचार प्रसार र प्रवर्द्धनकालागि छुट्टै समिति बनाएर जुटेको छ ।
ध्यान र आत्मचिन्तनका लागि वडा नम्बर ८ को ओशो तथागत आश्रम र वडा नम्बर १ को ब्रहृमकुमारी राजयोग केन्द्र सक्रिय छन् । मनोरञ्जन र पर्यटकीय विकासका हिसाबले राजापानी, मधौलिया पार्क, बालउद्यान, वनभोज स्थलहरूले बाणगङ्गा समृद्ध हुँदै गएको छ ।
लक्ष्मणघाट र श्रृङ्गीघाट जस्ता पवित्र स्थलमा स्नान र तर्पण गर्ने परम्परा अझै कायम छ । धार्मिक आस्था, सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले भरिएको बाणगङ्गा नगरपालिका, अब आध्यात्मिक पर्यटनको नयाा गन्तव्य बन्ने दिशामा अघि बढिरहेको छ ।