राष्ट्रपति रनिङ शिल्डको एथलेटिक्समा बागमती प्रदेश च्याम्पियन, अनिशा थारूले तोडिन १८ वर्ष पुरानो कीर्तिमान

प्रतियोगितामा बने ९ वटा रेकर्ड
जेष्ठ ३०, २०८२ |खेल ब्युरो
राष्ट्रपति रनिङ शिल्डको एथलेटिक्समा बागमती प्रदेश च्याम्पियन, अनिशा थारूले तोडिन १८ वर्ष पुरानो कीर्तिमान

काठमाडौं । बागमती प्रदेशकी अनिशा थारूले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा शुक्रबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् । 

यससँगै बागमती एथलेटिक्समा सर्वाधिक स्वर्ण जितेर एथ्लेटिक्स च्याम्पियन बनेको छ । बागमतीले १२ स्वर्ण, ४ रजत र ३ कास्य जित्यो । बागमतीका लागि अनिशा थारू र प्रवीण राना मगरले समान ४-४ स्वर्ण योगदान गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अनिशाले ११ दशमवलव २७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १० दशमलव ८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । 

शुक्रबार छात्रा ट्रिपलजम्पसहित छात्र/छात्राको ४ गुणा १ सय मिटर रिलेमा गरी ३ कीर्तिमान बने । छात्र ४ गुणा १ सय मिटर रिलेमा बागमतीका प्रवीण राना मगर, सन्त दराई, सुविन लामा र निरज शाहको बागमती टोलीले निर्धारित दूरी ४३ दशलव ४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण हात पारे । 

सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारू, भगवती खड्का र सुरूची मोक्तानले निर्धारित दूरी तय गर्न ५१ दशमलव ९ सेकेन्ड खर्चदै कीर्तिमान स्थापित गरे । यसअघि लुम्बिनीको टोलीले २०७९ सालमा कीर्तिमान बनाएका थिए । 

तीन दिने एथलेटिक्समा जम्मा ९ कीर्तिमान बने । पहिलो दिन दुई र दोस्रो दिन चार कीर्तिमान स्थापित भएका थिए । आज बिहान भएको छात्र त्रिपलजम्पमा सुदूरपश्चिमका विकास बुढा पहिलो भए । उनले १३ दशमलव ७३ मिटर जम्प गरे । 

छात्र ३ हजार मिटर दौडमा कर्णालीका अनिल शाही पहिलो भए । छात्रातर्फ सुदूरपश्चिमकी देवकी धामीले १० मिनेट ५२ दशमवल ९ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण चुमिन् । छात्र २ सय मिटर दौडमा बागमतीका प्रवीण राना मगर पहिलो भए । उनले २२ दशमलव ४ सेकेन्ड समय खर्चे । 

बागमतीका लागि प्रवीणले १ सय मिटर दौड, २ सय मिटर दौड, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते । अनिशा लङजम्प, ट्रिपलजम्प, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिलेमा पहिलो भइन् । अनिशाले ४ सय मिटर दौडमा थप १ रजत पनि हात पारिन् । 

सुदूरपश्चिम समान ७-७ स्वर्ण, रजत र कास्य साथ दोस्रो भयो । तेस्रो स्थानको गण्डकीले ३ स्वर्ण, ५ रजत र ६ कास्य हात पार्‍यो ।