सिरहा । सिरहाको गोलबजार-लगडी गदियानी सडक ठेक्का लागेको झण्डै पाँच वर्ष भयो ।
हुलाकी सडक निर्देशनालय, जनकपुरले २९ किलोमिटर लामो यो सडक निर्माणका लागि कन्टेक प्रालि, काठमाडौंलाई २०७७ भदौमै ठेक्का दिएको थियो । तर, अहिलेसम्म केही ठाउँमा नाला बनाउन र ग्राभेल हाल्नबाहेक केही काम भएको छैन । भुक्तानी भने साढे २५ करोड भइसकेको छ ।
हुलाकी सडक निर्देशनालय, जनकपुरले २०७७ भदौ २४ मै ३० महिना अर्थात् २०७९ फागुन २३ भित्र काम सम्पन्न हुने गरी यो सडक निर्माणका लागि ९१ करोड ३९ लाख ७९ हजार ६० रूपैयाँमा कन्टेक प्रालि, काठमाडौंलाई ठेक्का दिएको थियो । तर, सम्झौता अवधि सकिादा पनि सामान्य भौतिक प्रगति पनि गर्न नसकेको यो ठेकेदारलाई निर्देशनालयले पहिलो चोटी २०८० फागुन २२ र दोस्रो चोटी २०८१ फागुन २२ सम्म गरी दुई पटक म्याद थप गरिदिएको थियो ।
यो म्याद पनि सकिसक्दा झण्डै पाँच वर्षमा ठेकेदार कम्पनीले सडकका केही ठाउँमा नाला बनाउन र ग्राभेल हाल्नबाहेक अरू काम गरेको देखिँदैन । यसमा ठेकेदार तथा निर्देशनालयले चरम बद्मासी गरेको तर आफूले सबैतिर गुहार्दा पनि आश्वासनबाहेक केही नपाएको अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादव गुनासो गर्नुहुन्छ ।
हुलाकी सडक निर्देशनालय, जनकपुरकाअनुसार ठेकेदारलाई अहिलेसम्ममा भ्याटबाहेक २५ करोड ४९ लाख ७ हजार ७ सय १४ रूपैयाँ भुक्तानी भइसकेको छ । जबकि, सडकको भौतिक प्रगति करिब २८ प्रतिशत मात्रै छ ।
सडक बनाउने ठेक्का कन्टेक प्रालिले पाए पनि मिलेमतोमा राजनीतिक पहुँच भएका अन्य ठेकेदारहरूले पेटीमा ठेक्का लिएर काम गर्दा ढिलाइ भएको हो । तर, निर्देशनालयले फेरि यो कम्पनीलाई एक वर्षको म्याद थप्ने प्रक्रिया अगाडि बढाएको छ ।
यो सडक नबन्दा सर्वसाधारण पीडित छन् नै, यसको भौतिक प्रगति र भुक्तानी रकम हेर्दा अनियमितताको आशंकासमेत उब्जिन्छ ।