काठमाडौं । राष्ट्रपति रनिङ शिल्डमा अहिलेसम्म ३५ स्वर्ण पदकका प्रतियोगिता समाप्त भएका छन्। अहिलेसम्म बागमती प्रदेश १७ स्वर्णसहित शीर्षस्थानमा छ। ८ स्वर्ण जितेको सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा छ। गण्डकी र कर्णालीले समान तीन-तीन स्वर्ण आफ्नो नाममा गरेका छन् ।
बागमती प्रदेशले आज तेक्वान्दोमा मात्रै ५ स्वर्ण पदक जितेको छ । यो खेलमा १० स्वर्णको टुंगो लाग्दा सुदूरपश्चिमले ३ तथा कर्णाली र मधेशले समान १-१ स्वर्ण हात पारेका छन् । छात्र ५२ केजीमुनि सुदूरपश्चिमका विशालाराज भट्ट पहिलो भए ।
४८ केजीमुनि कर्णालीका निशान्त प्याकुरेल, ५१ केजीमुनि बागमतीका करण धोलीले स्वर्ण पदक आफ्नो नाममा गरेका छन्। यसैगरी छात्रा ४६ केजीमुनि बागमतीकी सोनिया तामाङ पहिलो हुँदा ४४ केजीमुनि सुदूरपश्चिमकी दीपा जैसी, ४९ केजीमुनि सुदूरपश्चिमकी सुस्मिता विष्ट र ४२ केजीमुनि मधेशकी सलिना यादव पहिलो बने ।
एकल पुम्सेको पुरुषमा बागमतीका विवास तामाङ तथा महिलामा बागमतीकै सरगम थापाले स्वर्ण चुमे । यसैगरी उसुमा बागमतीले ४ स्वर्ण जितेको छ । नान छ्वानमा बागमतीका विजय वाइबा, बबिता ठाडा मगर, लभ्सन आले र मारिया राईले आआफ्नो विधामा स्वर्ण जितेका छन् ।
यसैगरी करातेतर्फ एकल काताको छात्रमा बागमतीका प्रथम मानन्धर र छात्रामा लुम्बिनीकी मनीषा खडेकाले स्वर्ण जितेका छन् । यस्तै छात्र ४७ केजीमुनि मधेशका प्रिन्स शाह पहिलो भए ।